वीरगञ्ज । मौखिक स्वास्थ्य तथा सामुदायिक नेतृत्वको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउँदै आएका पर्साका चिकित्सक डा. आमिर आलमलाई सन् २०२६ को अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कारबाट सम्मान गरिएको छ।
काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजित नेपाल तथा अन्तर्राष्ट्रिय शिखर सम्मेलनका क्रममा डा. आलमलाई उक्त सम्मान प्रदान गरिएको हो। उनलाई मौखिक स्वास्थ्य सेवा तथा सामुदायिक नेतृत्वमा पुर्याएको उत्कृष्ट योगदान, समर्पण र उल्लेखनीय उपलब्धिको कदरस्वरूप सम्मान गरिएको प्रमाणपत्रमा उल्लेख छ।
डा. आलम बीडीएस तथा राजनीतिशास्त्रमा स्नातकोत्तर हुन्। उनलाई प्रदान गरिएको प्रमाणपत्रमा समाज तथा राष्ट्रको हितमा पुर्याएको मूल्यवान योगदानका लागि सम्मान गरिएको उल्लेख गरिएको छ।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। आयोजकका तर्फबाट अमोल आर. भगत तथा अन्य प्रतिनिधिले डा. आलमलाई सम्मान गरेका थिए।
पर्साका चिकित्सक डा. आलमले स्वास्थ्य सेवा र सामुदायिक नेतृत्वको क्षेत्रमा गरेको योगदानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कदर हुनु पर्सा जिल्लाकै लागि गौरवको विषय भएको स्थानीयको भनाइ छ।
सम्मानपछि डा. आलमले आगामी दिनमा पनि मौखिक स्वास्थ्य सेवासँगै समुदायको हितमा थप सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।