धनगढी । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका दुई नेपाली सैनिकको परिवार यतिबेला पीडा, अन्योल र आशाको दोसाँधमा दिन बिताइरहेका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका–स्थित दुई परिवार आफ्ना छोराहरू सकुशल घर फर्किने प्रतीक्षामा छन्।
कृष्णपुरका सुरतबहादुर पालका छोरा हिक्मतबहादुर पाल बाढीपछि विगत १२ दिनदेखि सम्पर्कविहीन छन्। दुई वर्षअघि मात्रै नेपाली सेनामा भर्ती भएका हिक्मतको अवस्थाबारे कुनै आधिकारिक जानकारी नपाएपछि परिवार चिन्तित बनेको छ।
आमा जानकी पाल दिनभर छोराको तस्वीर हेर्दै बिताउने गरेको बताउँदै उहाँको अवस्थाबारे कुनै खबर नआएको भन्दै भावुक हुनुभयो। बुबा सुरतबहादुरले नेपाली सेनाका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै चितवन र काठमाडौंका अस्पतालसम्म पुगेर खोजी गरे पनि छोराको अवस्था खुल्न नसकेको बताउनुभयो। सेनाले खोजी कार्य जारी रहेको जानकारी दिएको उहाँको भनाइ छ।
यस्तै, कृष्णपुरकै रमेशराज जोशी पनि रसुवा बाढीपछि सम्पर्कविहीन छन्। १४ वर्षदेखि नेपाली सेनामा कार्यरत रमेशसँग बाढीअघि श्रीमती लक्ष्मी जोशीको अन्तिम पटक फोनमा कुराकानी भएको थियो। त्यसयता उहाँसँग सम्पर्क हुन सकेको छैन।
आमा बेलुदेवी जोशी घरको आँगनमा बसेर छोराको प्रतीक्षा गरिरहनुभएको छ भने श्रीमती लक्ष्मी प्रत्येक फोनको घण्टीसँगै श्रीमान्को खबर आउने आशामा बस्ने गरेको बताउनुहुन्छ। उहाँले सरकारले खोजी कार्यलाई तीव्र बनाउँदै सकुशल उद्धार गर्नुपर्ने आग्रह गर्नुभएको छ।
रमेशका नाबालक छोरा–छोरीले बुबाको अवस्थाबारे बारम्बार सोध्न थालेपछि परिवारले केही समयका लागि छोरालाई मामाघर पठाएको जनाएको छ।
दुवै परिवारले आफ्ना छोराहरू सकुशल फर्किने आशा भने अझै त्यागेका छैनन्। रसुवा बाढीपछि सम्पर्कविहीन भएका सैनिकहरूको खोजी कार्य जारी रहेको भए पनि परिवारहरू यथाशीघ्र उनीहरूको अवस्थाबारे स्पष्ट जानकारी आउने प्रतीक्षामा छन्।