वीरगञ्ज । वीरगञ्जका विभिन्न घरजग्गा सम्बन्धी विवादमा संलग्न रहेको आरोप लागेका सर्लाहीका सञ्जय कुमार ठाकुरलाई पर्सा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विश्वासघात तथा ठगीसम्बन्धी कसुरमा दर्ता भएको मुद्दाका फरार प्रतिवादी ठाकुरलाई काठमाडौंको शान्तिनगर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि पर्सा ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
ठाकुरमाथि वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित स्काईलाइन महलसहित विभिन्न निजी जग्गामा विवाद सिर्जना गरी जग्गाधनीसँग आर्थिक लेनदेनको दबाब दिएको आरोप छ। सोही प्रकरणमा आदर्शनगर क्षेत्रका २१ जना जग्गाधनीले प्रहरीमा जाहेरी दिएका थिए।
प्रहरीका अनुसार ठाकुरविरुद्ध यसअघि नै मुद्दा दर्ता भए पनि उनी लामो समयसम्म फरार अवस्थामा रहेका थिए। हाल पर्साका प्रहरी प्रमुख पवन भट्टराईको नेतृत्वमा अनुसन्धानलाई प्राथमिकता दिइएपछि विशेष टोली परिचालन गरी उनलाई पक्राउ गरिएको हो।
पर्साका प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले ठाकुरसँग सम्बन्धित अन्य व्यक्तिविरुद्ध पनि उजुरी परेको जानकारी दिँदै घटनाको सबै पक्षमाथि अनुसन्धान भइरहेको बताए।
यसअघि वीरगञ्ज महानगरपालिकाका कर्मचारीलाई धम्की दिएको तथा कार्यालयमा दुर्व्यवहार गरेको आरोपमा पनि ठाकुर विवादमा तानिएका थिए। महानगरपालिकाले प्रहरीलाई औपचारिक रूपमा पत्राचार गर्दै कानुनी कारबाहीको माग गरेको थियो।
स्थानीय जग्गाधनी तथा सरोकारवालाहरूले ठाकुरले विभिन्न सरकारी निकाय र उच्च अधिकारीसँग आफ्नो पहुँच रहेको दाबी गर्दै दबाब सिर्जना गर्ने गरेको आरोप लगाएका छन्। यद्यपि यस्ता दाबीहरूको सत्यता अनुसन्धानबाट मात्र पुष्टि हुने प्रहरीको भनाइ छ।
नापी कार्यालयका पूर्वकर्मचारी रहेका ठाकुरले सरकारी सेवा छाडेपछि विभिन्न विवादित घरजग्गाका कागजातको आधारमा दाबी प्रस्तुत गर्दै आएको आरोप लाग्दै आएको छ। वीरगञ्जका केही चर्चित सम्पत्तिसम्बन्धी विवादमा समेत उनको नाम जोडिएको बताइन्छ।
प्रहरीले ठाकुरको पक्राउसँगै वीरगञ्जमा लामो समयदेखि चर्चामा रहेको विवादित घरजग्गा, फर्जी वारेसनामा, धम्की तथा आर्थिक बार्गेनिङसँग सम्बन्धित घटनाको गहन अनुसन्धान अघि बढाउने जनाएको छ। साथै, यस प्रकरणमा अन्य व्यक्ति वा समूहको संलग्नता भए–नभएको विषय पनि अनुसन्धानको दायरामा रहने बताइएको छ।