वीरगञ्ज । पर्साको पकहामैनपुर गाउँपालिकामा सर्वेक्षक र अमिन पदका लागि सञ्चालन हुन लागेको अन्तर्वार्ता परीक्षा तत्कालका लागि स्थगित गरिएको छ। गाउँपालिकाका अध्यक्ष सुरेश प्रसादले अध्यक्षको स्वीकृति तथा जानकारीबिना सूचना प्रकाशन गरिएको र कर्मचारी छनोट तथा नियुक्तिसम्बन्धी निर्धारित कानुनी प्रक्रिया पालना नभएको भन्दै अन्तर्वार्ता प्रक्रिया रोक्न निर्देशन दिएका हुन्।
गाउँपालिकाले प्रकाशित गरेको विज्ञापन नं. ०३/०८३–०८४ अन्तर्गत सर्वेक्षक तथा विज्ञापन नं. ०४/०८३–०८४ अन्तर्गत अमिन पदको अन्तर्वार्ता कार्यक्रम परिवर्तनसम्बन्धी सूचना सार्वजनिक भएपछि अध्यक्षले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
अध्यक्षद्वारा जारी पत्रमा अध्यक्षको स्वीकृति तथा जानकारीबिना अन्तर्वार्ता कार्यक्रम परिवर्तनसम्बन्धी सूचना प्रकाशित भएको, स्थानीय तहमा कर्मचारी छनोट तथा नियुक्तिसम्बन्धी प्रचलित कानुनी व्यवस्था, कार्यविधि र निर्धारित प्रक्रिया पूर्ण रूपमा पालना नभएको उल्लेख गरिएको छ।
त्यसैगरी, सूचना प्रकाशनको आधारका रूपमा उल्लेख गरिएको ‘प्राविधिक कारण’ समेत स्पष्ट, प्रमाणित तथा अभिलेखीकरण नभएको भन्दै प्रश्न उठाइएको छ। यस्तो अवस्थामा अन्तर्वार्ताको मिति परिवर्तन गर्दा सहभागी उम्मेदवारबीच समान अवसर र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तमा प्रतिकूल असर पर्न सक्ने अध्यक्षको पत्रमा उल्लेख छ।
पत्रमा सम्बन्धित विषयमा अधिकारप्राप्त निकायको निर्णयबिना प्रशासन शाखाबाट एकल रूपमा सूचना प्रकाशन गरिएको देखिनुले समेत प्रक्रिया पारदर्शी, निष्पक्ष तथा कानुनसम्मत नभएको देखिएको जनाइएको छ।
गाउँपालिकाले विषयको आवश्यक छानबिन, कानुनी समीक्षा तथा आगामी गाउँसभा सम्पन्न नभएसम्म अन्तर्वार्ता परीक्षा कार्यक्रम परिवर्तनसम्बन्धी सूचना तथा सोसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया तत्काल प्रभावबाट स्थगित गरेको छ।
साथै, सम्बन्धित शाखालाई यस विषयसँग सम्बन्धित आवश्यक कागजात, निर्णय, आधार तथा प्रमाणसहित लिखित रूपमा पेश गर्न निर्देशन दिइएको छ।
गाउँपालिकाको अध्यक्षबाटै कर्मचारी छनोट प्रक्रियामा प्रश्न उठाउँदै अन्तर्वार्ता रोकिएपछि पकहामैनपुरमा कर्मचारी नियुक्ति प्रक्रिया थप विवादमा तानिएको छ। अब गाउँसभापछि हुने निर्णयले रोकिएको सर्वेक्षक र अमिन पदको छनोट प्रक्रिया कुन दिशामा अघि बढ्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।