वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि (क्यासिनो) मा प्रहरीले छापा हानेको घटनामा दुई गाउँपालिका अध्यक्षको नाम जोडिएपछि प्रकरण थप चर्चामा आएको छ।
गत शनिबार राति प्रहरीले क्यासिनोमा छापा हानेर जुवा खेलेको आरोपमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसहित चार जना तथा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाएको आरोपमा क्यासिनोका चार कर्मचारी गरी आठ जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका आठै जनामाथि प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
यसैबीच, क्यासिनोभित्र अध्यक्ष यादवसँगै जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीसमेत देखिएको भिडियो सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको हो। सार्वजनिक भिडियोमा अध्यक्ष चौधरीसमेत क्यासिनोभित्र रहेको देखिएपछि उनी पनि जुवा खेल्न क्यासिनो पुगेका थिए कि भन्ने प्रश्न उठेको थियो।
तर, जिराभवानी गाउँपालिका अध्यक्ष चौधरीले भने आफू जुवा खेल्न क्यासिनो नगएको स्पष्ट पारेका छन्। ज्योती दैनिकसँग फोनमार्फत कुरा गर्दै अध्यक्ष चौधरीले आफू सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसँग आफ्नो साँचो लिन क्यासिनो पुगेको बताएका छन्।
अध्यक्ष चौधरीका अनुसार आफ्नो साँचो अध्यक्ष यादवसँग रहेकाले लिनका लागि उनी क्यासिनो पुगेका थिए। त्यहाँ पुगेपछि अध्यक्ष यादवले ‘एकछिन भित्र जाऔँ’ भनेकाले आफू केही समयका लागि भित्र गएको र त्यसपछि तत्कालै बाहिरिएको उनको भनाइ छ। उनले आफू क्यासिनोमा जुवा खेल्न नगएको दाबी गर्दै आफू त्यहाँ पुगेको कारण साँचो लिनु मात्रै रहेको बताए।
यसअघि सार्वजनिक भएको भिडियोमा अध्यक्ष चौधरी क्यासिनोभित्र देखिएपछि उनको उपस्थितिलाई लिएर विभिन्न प्रश्न उठेका थिए। क्यासिनो स्रोतको दाबीअनुसार प्रहरी छापा मार्न पुगेपछि अध्यक्ष चौधरी क्यासिनोको विश्राम कक्षमा लुकेर बसेको चर्चा चले पनि यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन।
प्रहरीले भने क्यासिनो घटनामा पक्राउ परेकाहरूमाथि जुवासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धानका क्रममा क्यासिनोको सीसीटीभी फुटेज, सार्वजनिक भिडियो तथा अन्य प्रमाणसमेत अध्ययन गरिने बताइएको छ।
यस घटनामा अध्यक्ष यादव पक्राउ परेका छन् भने भिडियोमा देखिएका अध्यक्ष चौधरीमाथि तत्काल कुनै कारबाही नभएको विषयमा समेत प्रश्न उठेको छ। यद्यपि, अध्यक्ष चौधरीले आफू जुवा खेल्न नभई साँचो लिन मात्रै क्यासिनो पुगेको स्पष्टीकरण दिएका छन्।
अध्यक्ष चौधरीको क्यासिनो प्रवेशको वास्तविक उद्देश्य तथा घटनामा उनको कुनै कानुनी संलग्नता रहे–नरहेको विषय भने प्रहरी अनुसन्धान र उपलब्ध प्रमाणबाट स्पष्ट हुने देखिन्छ।