काठमाडौं । ललितपुरको सातदोबाटोमा निर्माण गरिएका जेनजी सहिदहरूको शालिक अनावरण कार्यक्रम स्थगित भएको छ। निर्माण गरिएका शालिकहरू सहिदहरूको अनुहारसँग नमिलेको भन्दै परिवारजनले असन्तुष्टि जनाएपछि अनावरण कार्यक्रम स्थगित भएको हो।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा सातदोबाटोस्थित नेपाल फुटबल संघ (एन्फा) परिसरमा शालिक निर्माण गरिएको थियो। कार्यक्रममा सहिद परिवारका सदस्यहरूलाई समेत आमन्त्रण गरिएको थियो
तर,अनावरण गर्नुअघि शालिक हेरेका सहिद परिवारका सदस्यहरूले आफ्ना आफन्तको अनुहार शालिकमा नमिलेको भन्दै असन्तुष्टि जनाएका थिए। परिवारजनले शालिक निर्माणमा त्रुटि रहेको भन्दै तत्काल अनावरण नगर्न आग्रह गरेपछि कार्यक्रम स्थगित गरिएको हो।
तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले सातदोबाटोमा जेनजी पार्क निर्माण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको स्मरणमा पार्क तथा शालिक निर्माण गरिएको हो।
शालिक अनावरण कार्यक्रममा गृहमन्त्री सुदन गुरुङलगायतको उपस्थिति थियो। कार्यक्रममा सहभागी हुन सहिद परिवारका सदस्यहरू पनि सातदोबाटो पुगेका थिए।
तर,शालिकको अनुहार वास्तविक सहिदसँग नमिलेको विषयमा परिवारजनले प्रश्न उठाएपछि निर्धारित कार्यक्रमअनुसार अनावरण हुन सकेन। परिवारजनको असन्तुष्टिपछि शालिकको स्वरूप तथा अनुहार पुनः परीक्षण गरेर आवश्यक सुधार गर्ने विषयमा छलफल भएको बताइएको छ।
सहिद परिवारले आफूहरूका आफन्तको पहिचान र स्वरूपसँग मेल खाने गरी शालिक निर्माण हुनुपर्ने बताएका छन्। उनीहरूले सहिदहरूको सम्मानसँग जोडिएको विषय भएकाले निर्माणमा विशेष संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएका छन्। शालिकमा देखिएको समस्या समाधान गरी पुनः अनावरणको कार्यक्रम तय गरिने बताइएको छ।
जेनजी आन्दोलनका सहिदहरूको सम्झनामा एन्फा परिसरमा ४५ जना सहिदको शालिक निर्माण गरिएको छ।