काठमाडौँ । नेपाली राजनीतिमा पछिल्लो समय देखिएका उतारचढाव र युवा आन्दोलनको समीक्षा गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य मोहमद निजामले केवल राजनीतिक दोषारोपण गरेर इतिहासको सही मूल्याङ्कन हुन नसक्ने बताउनुभएको छ।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता निजामले आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता र अवसरका मुद्दाहरू आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो। तर, आज सत्ता र शक्तिमा रहेकाहरूले आफ्नो असफलता लुकाउन पुरानो नेतृत्वलाई मात्र दोष दिएर पन्छिन नमिल्ने उहाँको तर्क छ।
नेता निजामले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व र अडानको प्रशंसा गर्दै अप्ठ्यारो समयमा देश र जनताको पक्षमा लिएको दृढ अडानले नै इतिहासमा नेताको उचाइ तय गर्ने बताउनुभयो। "मदन भण्डारी र मनमोहन अधिकारीका विचारको वास्तविक वारिस भाषणले होइन, अप्ठ्यारो परिस्थितिमा लिइने क्रान्तिकारी अडान र राष्ट्रिय स्वाभिमानको रक्षाले पुष्टि गर्छ, जुन केपी शर्मा ओलीले व्यवहारमै प्रमाणित गर्नुभएको छ," निजामले भन्नुभयो।
त्यस्तै, युवाहरूलाई सङ्गठित गर्दै राष्ट्रियता, विकास र सुशासनका पक्षमा निरन्तर परिचालन गर्न राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज एवं प्रभावशाली नेता महेश बस्नेतले निर्वाह गर्नुभएको भूमिका अनुकरणीय रहेको उहाँले स्पष्ट पार्नुभयो।
संकटका बेला मैदानमा उभिएर राष्ट्रिय हितका लागि लड्ने महेश बस्नेतजस्ता नेतृत्वकै कारण आज युवा पङ्क्तिमा आशा र ऊर्जा कायम रहेको निजामको भनाइ छ।
"सरकार बदलिनु मात्रै परिवर्तन होइन; शासन गर्ने शैली, जवाफदेहिता र जनताको दैनिक जीवनमा रूपान्तरण देखिनु नै असली परिवर्तन हो," सचिवालय सदस्य निजामले भन्नुभयो, "आज सत्तामा बसेकाहरूले हिजो सडकबाट उठेका प्रश्नहरूको व्यावहारिक जवाफ दिनुपर्छ। पूर्वाग्रह राखेर कसैलाई पूर्ण खलनायक बनाउने वा आफ्ना असफलता अरूको टाउकोमा थोपेर चोखिने छुट कसैलाई छैन।"
उहाँले इतिहास र तथ्यलाई तोडमोड नगरी काम र नीतिका आधारमा स्वस्थ बहस गर्न आग्रह गर्दै समयले सबैको सही हिसाब-किताब राख्ने र इतिहासले नेकपा (एमाले) तथा यसको दृढ नेतृत्वको सही मूल्याङ्कन गर्ने विश्वास व्यक्त गर्नुभयो।