काठमाडौं । स्थानीय तह निर्वाचनको विषयमा संविधान र कानुन बाझिएको विषयमा सत्ता गठबन्धनले आइतबार कानुनविद्सँग छलफल गरेको छ ।छलफलमा संविधानसँग कानुन बाझिँदा संविधान अनुसार कानुन संशोधन गर्नु पर्ने व्यवस्था भएको सुझाव कानुनविदबाट आएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । सोही अनुसार स्थानीय तह निर्वाचन सम्बन्धी कानुन संशोधन गरिने उहाँले बताउनुभयो ।
एमालेले सरकार अफल भयो भनी गरेको टिप्पणीको बारेमा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री कार्कीले केपी ओली सरकार असफल भएकै कारण गठबन्धन सरकार बनेको बताउनुभयो । ‘उहाँको तीन वर्षको कार्यकालमा मुलुकलाई कुन दिशामा अग्रसर गर्नुभएको थियो, त्यसको समीक्षा अगामी निर्वाचनमा जनताले गर्ने छन्’, उहाँले भन्नुभयो ।गठबन्धन सरकारले जनतामा आशा जगाएको कार्कीले बताउनुभयो । सरकारले मुलुकलाई दिगो शान्ति, विकास र समृद्धिको दिशामा अघि बढाउन इमानदारिताको साथ प्रयास गरेको उहाँले बताउनुभयो ।
वर्तमान सरकार संविधानको मर्म अनुसार नै बनेको पनि कार्कीले दाबी गर्नुभयो । देश अधिनायकवाद तर्फ जानबाट रोक्न गठबन्धन बनेको उहाँले बताउनुभयो ।स्थानीय तहको निर्वाचन संविधानले गरेको व्यवस्था अनुसार नै हुने पनि उहाँले बताउनु भयो । गठबन्धनले निर्वाचन रोक्न नखोजेको उहाँले बताउनुभयो ।