वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित सातोमाई मन्दिरमा नवरात्रिको अवसरमा हुने कलश स्थापना तथा पूजा कार्यक्रमको तयारी तीव्र पारिएको छ।
पूजा कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन स्थानीयवासीको सहभागितामा गाउँ भेला गरी आवश्यक तयारी तथा व्यवस्थापनका विषयमा छलफल गरिएको हो। भेलामा कलश स्थापना, पूजा व्यवस्थापन, मन्दिर परिसरको सरसफाइ, भक्तजनको व्यवस्थापनलगायत विषयमा आवश्यक निर्णय गरिएको छ।
नवरात्रि पूजा समितिका अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा भएको भेलामा संविधानसभा सदस्य बिचारी यादव, वीरगञ्ज महानगरपालिका–२३ का वडाध्यक्ष अवधकिशोर कुशवाहा, वडा सदस्य कान्तिदेवी, समितिका उपाध्यक्ष लोकनारायण यादव, कोषाध्यक्ष राकेशकुमार साह, पूर्वअध्यक्ष जगारनाथ दासलगायत स्थानीय अगुवा तथा सर्वसाधारणको सहभागिता थियो।
भेलाले कलश स्थापना गर्ने प्रत्येक भक्तजनबाट पण्डितका लागि ७ सय ५१ रुपैयाँ, हजामका लागि १ सय ५० रुपैयाँ र मालोरिनका लागि १ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको पूजा समितिले जनाएको छ।
सातोमाई मन्दिरमा स्थानीयवासीको सामूहिक सहभागिता र सहयोगमा प्रत्येक वर्ष नवरात्रि पर्व श्रद्धा तथा भक्तिभावका साथ मनाइँदै आएको छ। यस वर्ष पनि पूजा तथा कलश स्थापना कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न मन्दिर परिसरको सरसफाइदेखि आवश्यक व्यवस्थापनका कामलाई प्राथमिकताका साथ अघि बढाइएको समितिले जनाएको छ।