वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–४ मालीबस्तीस्थित ओरिया खोलाको डिलमा निर्माण गरिएको सामुदायिक तालको योजनामा ५८ लाख रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएपछि योजनाको लागत र वास्तविक कामबीचको अन्तरलाई लिएर स्थानीयस्तरमा प्रश्न उठेको छ।
स्थानीयवासीका अनुसार योजनास्थलमा देखिने प्रमुख काम माटो उत्खनन तथा व्यवस्थापनमै सीमित देखिन्छ। यस्तो अवस्थामा ५८ लाख रुपैयाँ खर्च भएको भनिएपछि यति ठूलो रकम कहाँ र कसरी खर्च भयो? भन्ने प्रश्न उठेको हो।
सामुदायिक ताल निर्माणका लागि ठोरी–४, विजयबस्तीस्थित प्रकाश निर्माण सेवाले अनलाइन प्रक्रियामार्फत ठेक्का कबोल गरेको बताइएको छ। स्थानीयले भने योजनाको डिपिआर, लागत अनुमान, ठेक्का सम्झौता, बोलपत्र प्रक्रिया, प्राविधिक मूल्याङ्कन, नापी किताब, बिल–भर्पाई तथा भुक्तानी विवरण सार्वजनिक गर्न माग गरेका छन्।
स्थानीयको मुख्य चासो कागजमा देखाइएको कामको परिमाण र स्थलगत रूपमा भएको वास्तविक कामबीच कति मेल छ भन्नेमा छ। उनीहरूले स्वतन्त्र प्राविधिक नापजाँच र स्थलगत अनुगमन गरी वास्तविक कामको परिमाण यकिन गर्न माग गरेका छन्।
योजनामा माटो उत्खनन तथा व्यवस्थापनबाहेक उल्लेख्य संरचना निर्माण नभएको भए ५८ लाख रुपैयाँ खर्चको प्राविधिक आधार र औचित्य स्पष्ट गर्नुपर्ने स्थानीयको माग छ।
प्रकाश निर्माण सेवाका सञ्चालक तिलकबहादुरले आफूले माटो उत्खनन मात्र नभई अन्य कामसमेत गरेको र प्राविधिक मूल्याङ्कनअनुसार कामको भुक्तानी लिएको दाबी गरे। उनका अनुसार बढी भुक्तानी दिने प्रस्ताव आए पनि आफूले नलिने आस्था राख्ने भएकाले काम बराबरको मूल्याङ्कनपछि मात्रै रकम लिइएको हो।
ठोरी गाउँपालिका–४ का वडा अध्यक्ष मानबहादुर थिङले पनि कामको परिमाणअनुसार नै भुक्तानी भएको दाबी गरे। बाँकी विषय प्राविधिक पक्षसँग बुझ्दा स्पष्ट हुने उनको भनाइ छ।
गाउँपालिका अध्यक्ष लालबाबु श्रेष्ठले योजना अनलाइन ठेक्कामार्फत सञ्चालन भएकाले प्रक्रियागत रूपमा कमजोरी नरहेको बताए। उनका अनुसार प्राविधिक टोलीले गरेको मूल्याङ्कनका आधारमा नै भुक्तानी गरिएको हो।