वीरगंज । वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले प्रतिनिधिसभामा व्यक्त गरेका आरोपप्रति निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एसोसिएसनले २०८३ असोज १८ गते जारी गरेको प्रेस विज्ञप्तिमा सांसद अन्सारीले नेशनल मेडिकल कलेजमा काम नगर्ने व्यक्तिलाई संकाय सदस्यका रूपमा देखाएर पीजी सिट लिएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा नक्कली बिरामी प्रस्तुत गरिएको तथा विद्यार्थीको अनियमिततासम्बन्धी विषय उठेपछि उनीहरूको अध्ययन र आवासमा अवरोध गरिएको लगायतका आरोप प्रतिनिधिसभामा उठाएको उल्लेख गरेको छ।
एसोसिएसनले संकाय सदस्य, स्नातकोत्तर प्रशिक्षण, नियामक निरीक्षण, अस्पताल सेवा तथा विद्यार्थीको शैक्षिक वातावरणसँग सम्बन्धित विषय सामान्य प्रकृतिका नभएको स्पष्ट पारेको छ। चिकित्सा शिक्षाको गुणस्तर प्रत्यक्ष रूपमा नागरिकको स्वास्थ्य र जीवनसँग जोडिने भएकाले यस्ता आरोपको निष्पक्ष अनुसन्धान हुनुपर्ने संघको धारणा छ।
विज्ञप्तिमा कुनै मेडिकल कलेजमा अनियमितता भएको तथ्य र प्रमाण भएमा त्यसको छानबिन तथा कारबाहीका लागि चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिललगायत अधिकारप्राप्त नियामक निकाय विद्यमान रहेको स्मरण गराइएको छ। अनियमितता प्रमाणित भएमा प्रचलित कानुनअनुसार कारबाही हुनुपर्ने र त्यस्तो प्रक्रियाको संरक्षण गर्न आफूहरू स्पष्ट रहेको एसोसिएसनले जनाएको छ।
तर, संघले आरोप र प्रमाण एउटै कुरा नभएको भन्दै सार्वजनिक सरोकारका विषयमा आरोप लगाउँदा तथ्य, प्रमाण र जिम्मेवारीपूर्वक प्रस्तुत हुनुपर्नेमा जोड दिएको छ। एसोसिएसनका अनुसार अधिकारसम्पन्न निकायको छानबिन र निर्णयअघि कुनै शैक्षिक तथा स्वास्थ्य संस्थामाथि गम्भीर आरोप लगाउँदा त्यसले संस्थाको प्रतिष्ठासँगै त्यहाँ अध्ययनरत विद्यार्थीको मनोबल, भविष्य तथा चिकित्सक र स्वास्थ्यकर्मीको व्यावसायिक प्रतिष्ठामा समेत असर पार्न सक्छ।
एसोसिएसनले प्रमाणित नभएका आरोपका आधारमा सार्वजनिक रूपमा दोषी ठहर गर्ने अवस्था सिर्जना हुनु उचित नहुने जनाएको छ। साथै, आरोपसँग सम्बन्धित तथ्य, कानुन, नियम तथा उत्तरदायित्वका विषयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
संघले चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल तथा अन्य अधिकारसम्पन्न निकायलाई सांसद अन्सारीले सार्वजनिक रूपमा उठाएका विषयको शीघ्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न आग्रह गरेको छ।
त्यसैगरी, विद्यार्थीको भविष्य, बिरामीको सेवा तथा नेपालको चिकित्सा शिक्षाप्रतिको सार्वजनिक विश्वासलाई केन्द्रमा राखी सबै पक्षलाई संयमित, जिम्मेवार र तथ्यमा आधारित अभिव्यक्ति तथा व्यवहार अपनाउन एसोसिएसनले अनुरोध गरेको छ।
निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन अफ नेपालले जारी गरेको विज्ञप्तिमा अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीको नेतृत्वमा रहेको कार्यसमितिको तर्फबाट उक्त धारणा सार्वजनिक गरिएको हो।