वीरगन्ज । लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार रुपैयाँ घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका इन्सपेक्टरसहित तीन जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार फरार अभियुक्त बाबु–छोरालाई पक्राउ गरेपछि उनीहरूबाट १० हजार रुपैयाँ लिएर छाडिएको गुनासो आएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरी हवल्दार र जवानसँगै इन्सपेक्टरको समेत मिलेमतोमा रकम लिएको आशंका देखिएपछि तीनै जनालाई कार्यक्षेत्रबाट फिर्ता बोलाइएको हो।
घटनामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका इन्सपेक्टर समुन्नत अधिकारी, प्रहरी हवल्दार दीपक राउत र प्रहरी जवान पपु पण्डितलाई जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको प्रहरीले जनाएको छ। घुसबापत लिएको भनिएको रकमसमेत फेला परेको प्रहरीको दाबी छ।
घटनाको विस्तृत छानबिनका लागि पर्सा प्रहरीले प्रहरी नायब उपरीक्षक राजु कार्कीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।
अनुसन्धान पूरा भएपछि समितिले तयार गर्ने प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पठाइनेछ। त्यसपछि अनुसन्धानबाट दोषी देखिएमा इन्सपेक्टर अधिकारीसहित तीनै जनामाथि थप कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले गुनासो आएपछि सम्बन्धित प्रहरी कर्मचारीलाई सोधपुछ तथा अनुसन्धानका लागि जिल्ला बोलाइएको बताए।