काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले प्रतिनिधिसभामा लगाएका गम्भीर आरोपमाथि निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन अफ नेपालले प्रश्न उठाएको छ।
सांसद अन्सारीले कलेजमा काम नगर्ने करिब २५ जना व्यक्तिलाई फ्याकल्टीका रूपमा देखाएर पीजी सिट लिएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा सुरक्षागार्डलाई बिरामी बनाएर प्रस्तुत गरिएको तथा विद्यार्थीमाथि अवरोध गरिएको दाबी गरेका थिए।
तर एसोसिएसनले २०८३ असोज १८ गते जारी गरेको विज्ञप्तिमार्फत आरोप र प्रमाणलाई एउटै विषयका रूपमा प्रस्तुत गर्न नहुने स्पष्ट पारेको छ। संघले यस्ता गम्भीर आरोपको पुष्टि गर्ने अधिकार सम्बन्धित नियामक निकायसँग रहेको भन्दै चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिललगायत निकायबाट निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ।
संघका अनुसार मेडिकल कलेजमा फ्याकल्टी, पीजी प्रशिक्षण, नियामक निरीक्षण र अस्पताल सेवासम्बन्धी विषय सामान्य आरोप–प्रत्यारोपको विषय होइनन्। प्रमाणित नभएका आरोप सार्वजनिक रूपमा स्थापित तथ्यझैँ प्रस्तुत गर्दा संस्थाको प्रतिष्ठासँगै अध्ययनरत विद्यार्थी, चिकित्सक र स्वास्थ्यकर्मीको भविष्य तथा मनोबलमा समेत असर पर्न सक्ने संघको भनाइ छ।
अन्सारीले संसद्मा उठाएका आरोपबारे हालसम्म सम्बन्धित नियामक निकायबाट सार्वजनिक भएको कुनै अन्तिम आधिकारिक निष्कर्ष देखिएको छैन। त्यसैले आरोप सही वा गलत भन्ने निष्कर्षमा पुग्नुअघि अधिकारसम्पन्न निकायबाट छानबिन आवश्यक देखिन्छ।
एसोसिएसनले अनियमितता प्रमाणित भए कानुनअनुसार कारबाही गर्न आफूहरू तयार रहेको स्पष्ट पार्दै प्रमाण भए सार्वजनिक गर्न र नभए आरोपलाई तथ्यका रूपमा स्थापित नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
मेडिकल शिक्षाजस्तो संवेदनशील क्षेत्रमा सांसदबाट उठाइएका प्रश्न आफैँमा छानबिनको विषय बन्न सक्ने भए पनि त्यसलाई प्रमाणित गर्ने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुने संघको धारणा छ। विद्यार्थीको भविष्य र बिरामीको स्वास्थ्यसँग जोडिएको विषय भएकाले आरोपभन्दा तथ्य र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने उसको जोड छ।
यसबीच नेशनल मेडिकल कलेजले पनि अन्सारीका आरोपप्रति आपत्ति जनाउँदै आफू लामो समयदेखि सम्बन्धित नियामक निकायको अनुगमन र नियमनअन्तर्गत सञ्चालन हुँदै आएको जनाएको छ।