पर्सा । पर्साको धोविनी गाउँपालिकाका दुई विद्यालयमा विद्यालय सुधार योजनालाई थप समावेशी, बालमैत्री तथा सुरक्षित बनाउने उद्देश्यले विद्यालयस्तरीय अभिमुखीकरण गरिएको छ।
अकाउन्टेबिलिटी ल्याब नेपालको आर्थिक सहयोग तथा सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC), पर्साको प्राविधिक सहयोगमा सञ्चालित ACCESS परियोजनाअन्तर्गत धोविनी गाउँपालिका–१ भिखमपुर पिपरास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र वडा नं. ५ स्थित श्री अजिज मियाँ माध्यमिक विद्यालयमा अभिमुखीकरण गरिएको हो।
विद्यालयको समग्र शैक्षिक तथा व्यवस्थापकीय अवस्था सुधार गर्न विद्यालय सुधार योजनाको नियमित समीक्षा र आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने विषयमा अभिमुखीकरणका क्रममा विशेष जोड दिइएको थियो। सहभागीहरूलाई विद्यालय सुधार योजनाको उद्देश्य, निर्माण प्रक्रिया, प्राथमिकता निर्धारण तथा प्रभावकारी कार्यान्वयनका विभिन्न पक्षबारे जानकारी गराइएको थियो।
विद्यालयको वर्तमान अवस्था, विद्यार्थीका आवश्यकता, उपलब्ध स्रोतसाधन, विद्यमान चुनौती तथा सुधार गर्नुपर्ने क्षेत्र पहिचान गरेर त्यसैका आधारमा योजना निर्माण गर्नुपर्ने विषयमा सहभागीहरूबीच अन्तरक्रिया गरिएको थियो। विद्यालय सुधार योजना तयार गर्दा एकै किसिमको ढाँचा अपनाउनुभन्दा विद्यालयको वास्तविक आवश्यकता र स्थानीय परिवेशलाई केन्द्रमा राख्नुपर्नेमा समेत जोड दिइएको थियो।
अभिमुखीकरणका क्रममा विद्यालय सुधार योजनामा भौतिक पूर्वाधार र शैक्षिक पक्षसँगै समावेशी शिक्षा, बाल संरक्षण, बालबालिकाको सहभागिता, लैङ्गिक समानता, अपाङ्गता भएका बालबालिकाको पहुँच, सुरक्षित विद्यालय तथा विपद् जोखिम न्यूनीकरणजस्ता विषयलाई प्राथमिकताका साथ समेट्नुपर्ने विषयमा छलफल भएको थियो।
विद्यालयलाई सम्भावित जोखिम तथा विपद्बाट सुरक्षित राख्न जोखिम पहिचान, पूर्वतयारी, सुरक्षा व्यवस्था र विपद् व्यवस्थापनका उपायलाई विद्यालयको योजनामै समावेश गर्नुपर्ने विषयमा पनि सहभागीहरूलाई जानकारी गराइएको थियो। यसले विद्यालयको योजना केवल पूर्वाधार विकासमा सीमित नभई विद्यार्थीको सुरक्षा, सहभागिता र समान पहुँच सुनिश्चित गर्ने दस्तावेजका रूपमा विकास गर्नुपर्ने सन्देश दिएको थियो।
अभिमुखीकरणमा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, बाल क्लबका प्रतिनिधि तथा अभिभावकलगायतको सहभागिता थियो। सहभागीहरूले विद्यालयमा देखिएका समस्या, विद्यार्थीका आवश्यकता तथा आगामी दिनमा प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने विषयबारे आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको सहजीकरण SODCC, पर्साका कार्यकारी प्रबन्धक विशाल कुमार गुप्ताले गर्नुभएको थियो। उहाँले विद्यालय सुधार योजना कागजी दस्तावेजमा मात्र सीमित नरही विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारलाई दिशानिर्देश गर्ने महत्वपूर्ण आधार बन्नुपर्ने बताउनुभयो।
योजना निर्माणदेखि कार्यान्वयनसम्म विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकारबीच सहकार्य तथा समन्वय आवश्यक रहेको उल्लेख गर्दै गुप्ताले विद्यालयको अवस्था र आवश्यकताअनुसार योजनाको नियमित समीक्षा र परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो।
अभिमुखीकरणपछि दुवै विद्यालयले आफ्ना विद्यमान विद्यालय सुधार योजनाको पुनरावलोकन गरी आवश्यक विषय थप तथा परिमार्जन गर्ने अपेक्षा गरिएको छ। यसबाट विद्यालयमा सबै बालबालिकाका लागि समान अवसर, सुरक्षित वातावरण तथा गुणस्तरीय र समावेशी शिक्षाको वातावरण निर्माणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।