जिराभवानी । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. २ पञ्चगावास्थित मूल पार्कमा सोमबार एकदिने बृहत् रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
नारायणी खबर मिडिया सखुवा प्रसौनीको आयोजना, सखुवा प्रसौनी गाउँपालिकाको समन्वय तथा सहयोग र रक्तसञ्चार केन्द्र पर्साको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा २ जना महिलासहित कुल २५ जना स्थानीय युवा तथा समाजसेवीहरूले रक्तदान गरेका थियो।
नारायणी खबरका सम्पादक चिरञ्जीवी यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जसवन्त यादवले रक्तदान नै जीवनदान भएको उल्लेख गर्नुभयो। "मानव जीवन बचाउनुभन्दा ठूलो अरू कुनै धर्म हुन सक्दैन। अस्पतालहरूमा रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आयोजना गरिएको यो कार्य अत्यन्तै सराहनीय छ," अध्यक्ष यादवले भन्नुभयो, "स्थानीय स्तरमा यस्ता मानवीय र सामाजिक कार्यहरूलाई निरन्तरता दिन सखुवा प्रसौनी गाउँपालिका सदैव तत्पर रहनेछ।"
कार्यक्रमका अध्यक्ष एवं नारायणी खबरका सम्पादक चिरञ्जीवी यादवले सञ्चार माध्यम केवल समाचार पस्कने थलो मात्र नभई सामाजिक उत्तरदायित्व वहन गर्ने माध्यम पनि भएको बताउनुभयो। समाजमा रगतको आवश्यकता परेका बिरामीहरूलाई सहयोग पुर्याउने पवित्र उद्देश्यका साथ गाउँपालिका र प्राविधिक टोलीको सहयोगमा यो कार्यक्रम सम्भव भएको भन्दै उहाँले सम्पूर्ण रक्तदाता, सहयोगी संस्था तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा वडा अध्यक्ष चिरञ्जीवी महतो थारु, आरिफ अन्सारी, नेपाल पत्रकार महासंघ पर्साका सदस्य प्रमोद यादव, स्थानीय पत्रकारहरू रामकिशोर चौधरी र नवल यादवको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुसवाहा, लेखा शाखा प्रमुख सुमन साह, प्रशासन शाखा प्रमुख अरविन्द ठाकुर, र स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार लगायतको पनि सहभागिता रहेको थियो।
सो कार्यक्रममा रक्तसञ्चार केन्द्र पर्साका प्राविधिक मनिस साहको नेतृत्वमा रहेको टोलीले प्राविधिक सहयोग पुर्याएको थियो।