काठमाडौं । नेपाल विश्व हिन्दू महासंघले पशुपतिनाथ मन्दिर परिसरमा गैरहिन्दू प्रवेश गराई धार्मिक मर्यादा, परम्परा तथा प्रवेश व्यवस्थाको उल्लंघन गरिएको भन्दै आपत्ति जनाएको छ।
महासंघका महासचिव डा. अभिषेक तिवारीद्वारा जारी प्रेस विज्ञप्तिमा पशुपतिनाथ मन्दिर सनातन धर्मावलम्बीहरूको आस्थाको सर्वोच्च केन्द्र तथा नेपालको राष्ट्रिय गौरव र सनातन संस्कृतिको प्रतीक भएकाले मन्दिरभित्र प्रवेशसम्बन्धी परम्परा र नियमको कडाइका साथ पालना हुनुपर्ने उल्लेख गरिएको छ।
विज्ञप्तिमा पछिल्लो समय सामाजिक सञ्जालमा मुस्लिम समुदायका केही व्यक्तिहरू नियोजित रूपमा मन्दिरभित्र प्रवेश गरेको भिडियो सार्वजनिक गरी त्यसलाई चुनौतीका रूपमा प्रस्तुत गरिएको भन्दै धार्मिक सहिष्णुता र सद्भाव खलल पार्ने गतिविधि स्वीकार्य नहुने महासंघले जनाएको छ।
महासंघले पशुपति क्षेत्र विकास कोषको सुरक्षा व्यवस्था, प्रशासनिक कमजोरी तथा अनुगमन प्रणालीप्रति समेत प्रश्न उठाएको छ। करोडौँ हिन्दूहरूको आस्थाको केन्द्रमा यस्तो घटना भइरहँदा सुरक्षाकर्मी तथा सम्बन्धित कर्मचारीले बेवास्ता गर्नु गम्भीर विषय भएको भन्दै घटनाबारे तत्काल सार्वजनिक स्पष्टीकरण दिन माग गरिएको छ।
त्यस्तै, ड्युटीमा लापरबाही गर्ने सुरक्षाकर्मी तथा नियम उल्लंघन गर्ने व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गर्न महासंघले माग गरेको छ। संवेदनशील धार्मिक विषयलाई बेवास्ता गर्दा उत्पन्न हुने परिणाम र धार्मिक द्वन्द्वको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनीसमेत दिइएको छ।
महासंघले पशुपतिनाथ मन्दिर नेपालको सनातन पहिचानको महत्वपूर्ण आधार भएकाले यसको धार्मिक मर्यादा र परम्परा संरक्षणका लागि आवश्यक सबै कदम चाल्नुपर्ने जनाएको छ।