पर्सा, असोज १९ । विद्यालयको शैक्षिक वातावरणलाई थप समावेशी, सुरक्षित र बालमैत्री बनाउँदै हरेक बालबालिकाका लागि समान अवसर सुनिश्चित गर्ने उद्देश्यले पर्साको जगरनाथपुर गाउँपालिकाका दुई विद्यालयमा समावेशी विद्यालय सुधार योजनासम्बन्धी अभिमुखीकरण गरिएको छ।
अकाउन्टेबिलिटी ल्याब नेपालको आर्थिक सहयोग तथा सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC), पर्साको प्राविधिक सहयोगमा सञ्चालित ACCESS परियोजनाअन्तर्गत श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जगरनाथपुर सिरा र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानीमा विद्यालय सुधार योजना निर्माण, समीक्षा, परिमार्जन तथा कार्यान्वयनसम्बन्धी अभिमुखीकरण गरिएको हो।
अभिमुखीकरणमा विद्यालय सुधार योजनाको आवश्यकता, उद्देश्य, औचित्य र निर्माण प्रक्रियाबारे सहभागीलाई जानकारी गराउँदै विद्यालयको वास्तविक अवस्था पहिचान गरेर आवश्यकता र स्थानीय परिस्थितिअनुसार व्यवहारिक योजना तयार पार्ने विषयमा छलफल गरिएको थियो।
विद्यालय सुधार योजना तयार गर्दा त्यसलाई केवल भौतिक पूर्वाधार विकासमा सीमित नराखी विद्यालयको समग्र वातावरण र शिक्षण–सिकाइ प्रक्रियासँग जोड्नुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो। समावेशी तथा बालमैत्री शिक्षण–सिकाइ, बालबालिकाको अर्थपूर्ण सहभागिता, उत्तरदायी विद्यालय शासन, लैङ्गिक समानता, अपाङ्गता समावेशी शिक्षा तथा बाल संरक्षणका विषयलाई योजनामा प्राथमिकताका साथ समेट्नुपर्ने बताइएको थियो।
त्यस्तै, जलवायु परिवर्तन र वातावरणीय जोखिमका साथै विद्यालय सुरक्षा तथा विपद् जोखिम न्यूनीकरणका विषयलाई पनि विद्यालय सुधार योजनामा समावेश गर्नुपर्नेबारे सहभागीबीच अन्तरक्रिया गरिएको थियो। जोखिमको पहिचान, विपद् पूर्वतयारी तथा विद्यालयस्तरमा सुरक्षित वातावरण निर्माणका लागि आवश्यक उपायबारे समेत छलफल भएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, बाल क्लबका प्रतिनिधि तथा अभिभावकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालयको वर्तमान अवस्था, देखिएका चुनौती तथा तत्काल सुधार गर्नुपर्ने क्षेत्रबारे आफ्ना अनुभव र सुझाव राखेका थिए।
कार्यक्रमको सहजीकरण SODCC, पर्साका कार्यकारी निर्देशक रुपक पाण्डेले गर्नुभएको थियो। उहाँले विद्यालय सुधार योजना विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र समग्र व्यवस्थापन सुधारको महत्वपूर्ण आधार भएको बताउनुभयो।
योजना कागजमा मात्र सीमित नराखी विद्यालयको वास्तविक आवश्यकतासँग जोडेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै पाण्डेले विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकारबीचको समन्वयले मात्र समावेशी विद्यालय निर्माणलाई प्रभावकारी बनाउन सकिने बताउनुभयो।
उहाँले विद्यालयको अवस्था र आवश्यकतामा आउने परिवर्तनअनुसार सुधार योजनाको नियमित समीक्षा र परिमार्जन गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो। विद्यालयमा सबै बालबालिकाले सुरक्षित र सम्मानजनक वातावरणमा सिक्न पाउने अवस्था सिर्जना गर्नु नै समावेशी विद्यालय सुधार योजनाको मुख्य उद्देश्य हुनुपर्ने उहाँको भनाइ थियो।
अभिमुखीकरणमा सहभागीहरूले विद्यालय सुधार योजनामा समावेशी शिक्षा, बाल संरक्षण, लैङ्गिक समानता, अपाङ्गता समावेशीता, बालबालिकाको सहभागिता, विद्यालय सुरक्षा तथा विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकताका साथ समेटेर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका थिए।
अभिमुखीकरणबाट दुवै विद्यालयले आफ्ना विद्यमान सुधार योजनाको समीक्षा गरी आवश्यक विषय थप तथा परिमार्जन गर्न र विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय पक्षमा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसले सबै बालबालिकाका लागि सुरक्षित, समावेशी, बालमैत्री र गुणस्तरीय सिकाइ वातावरण निर्माणमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।