विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित ३० वर्षीय मोजाहिद हकले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
विराटनगर–१७ निवासी हकले पार्टीको ३५ वर्षमुनिका युवा समूहअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्। कांग्रेसको संशोधित विधानअनुसार ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना तथा खुलातर्फ सात जना गरी २१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।
डेढ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय हक विद्यार्थी जीवनदेखि नै पार्टीका संगठनात्मक गतिविधिमा जोडिँदै आएका छन्। पार्टीका विभिन्न अभियानसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका उनले युवा पुस्ताको आवाजलाई पार्टीको केन्द्रीय निर्णय तहसम्म पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।
मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने हकले आफ्नो उम्मेदवारीलाई कुनै एक समुदायको मात्र नभई युवा पुस्ता र सबै समुदायको प्रतिनिधित्वसँग जोडेर हेर्नुपर्ने बताएका छन्।
“युवा केन्द्रीय सदस्यमा सबै समुदायको अपनत्व हुनुपर्छ भन्ने मान्यताका साथ मैले उम्मेदवारी दिएको हुँ,” हकले भने, “३५ वर्षमुनिका युवा केन्द्रीय सदस्यका रूपमा निर्वाचित गराउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिसँग सहयोग र मतको अपिल गर्दछु।”
हक सामाजिक क्षेत्रमा पनि सक्रिय छन्। लियो तथा लायन्स क्लब, करिब फाउन्डेसन, युथ युनिटी क्लब अफ नेपाल र फिड द निड नेपाल क्लबलगायत संस्थामार्फत उनले विभिन्न सामाजिक गतिविधिमा सहभागिता जनाउँदै आएका छन्।
कांग्रेसले १५औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय संरचनामा युवा सहभागिता बढाउने उद्देश्यले ३५ वर्षमुनिका युवाका लागि छुट्टै प्रतिनिधित्वको व्यवस्था गरेको छ। यही व्यवस्थाअन्तर्गत हकले आफ्नो पुस्ताका मुद्दा, युवाको सहभागिता तथा विविध समुदायको प्रतिनिधित्वलाई केन्द्रीय राजनीतिको एजेन्डासँग जोड्ने बताएका छन्।
मोरङ–५ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हकले आफू निर्वाचित भए युवाका मुद्दा, सामाजिक सरोकार तथा समुदायगत प्रतिनिधित्वका विषयलाई पार्टीको केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका छन्।
“युवा नेतृत्व केवल उमेरको प्रतिनिधित्व होइन, नयाँ सोच र सबै समुदायको आवाजलाई पार्टीको केन्द्रमा पुर्याउने माध्यम हो,” हकको भनाइ छ।