कलैया । बाराको देवताल गाउँपालिकाले सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीको स्वागत तथा कार्यरत प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन रायको बिदाइ गरेको छ।
गाउँपालिकामा आयोजित कार्यक्रममा चौधरीलाई टीका तथा माला लगाएर स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हो। जनप्रतिनिधि तथा कर्मचारीहरूले नयाँ प्रमुख प्रशासकीय अधिकृत चौधरीबाट गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
सोही कार्यक्रममा प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई आएका शिक्षा अधिकृत (सातौँ तह) कुबेर बहादुर बम र कलैया उपमहानगरपालिकाबाट सरुवा भई आएका अधिकृत (छैटौँ तह) सुनिल प्रसाद यादवको समेत स्वागत गरिएको थियो।
त्यसैगरी, गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत कृष्ण नन्दन रायलाई मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गरिएको थियो। सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले गाउँपालिकामा कार्यरत रहँदा उनले पुर्याएको योगदानको स्मरण गर्दै आगामी कार्यकाल र व्यक्तिगत जीवनको सफलताको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा वक्ताहरूले स्थानीय तहको सेवा प्रवाह प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य तथा समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए। गाउँपालिकाको प्रशासनिक कामलाई चुस्त, पारदर्शी र नागरिकमैत्री बनाउँदै विकास निर्माणका गतिविधिलाई गति दिनुपर्ने उनीहरूको भनाइ थियो।
नयाँ जिम्मेवारीमा आएका कर्मचारीहरूले स्थानीय आवश्यकता र नागरिकका अपेक्षालाई प्राथमिकतामा राखेर काम गर्ने विश्वास व्यक्त गर्दै सहभागीहरूले गाउँपालिकाको समग्र विकास, सुशासन र सार्वजनिक सेवा प्रवाहमा सकारात्मक सुधारको अपेक्षा गरेका थिए।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न शाखाका प्रमुख तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।