बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–६ निवासी करिब ३७ वर्षीया रिजवना खातुनको मृत्यु भएको हो ।
बारा प्रहरीका अनुसार शनिबार साँझ भएको दुर्घटनामा साइकलमा सवार रिजवना र उहाँका श्रीमान् ४० वर्षीय सबु मोहम्द, मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय अजय महतो र सोमा सवार २२ वर्षीय विवेक महतो घाइते हुनुभएको थियो ।
उपचारका क्रममा प्रादेशिक अस्पताल कलैयामा रिजवनाको साँझ ७ः१० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विमल खतिवडाले जानकारी दिनुभयो ।
खतिवडाका अनुसार सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको बीआर ०५ एएफ ०१४० नम्बरको मोटरसाइकलले सोही दिशाबाट गइरहेको साइकललाई ठक्कर दिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।