वीरगञ्ज, पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका नेता सुधीर पटेलले नेकपा एमाले परित्याग गरी रास्वपामा प्रवेश गरेका विजयकुमार सरावगीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।
आज आयोजित एक कार्यक्रममा नेता पटेलले एमाले परित्याग गरी रास्वपामा प्रवेश गरेका सरावगीको अभिव्यक्तिको जवाफ दिँदै आफूलाई कसैले किन्न नसक्ने बताएका हुन्।
सरावगीले रास्वपामा प्रवेश गरेलगत्तै वीरगञ्ज महानगरपालिकाको सम्भावित उम्मेदवारका रूपमा रहेका पटेललाई आफूले किन्ने, उनलाई विधायक बनाएर मन्त्री बनाउने र आफू महानगरपालिकाको निर्वाचनमा प्रतिस्पर्धा गर्ने आशयको अभिव्यक्ति दिएको पटेलको भनाइ छ।
उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै पटेलले आफूलाई किन्ने हैसियत सरावगीको नभएको र आफ्नो परिवारमा समेत कसैले आफूलाई किन्न नसक्ने स्पष्ट पारे। उनले आफ्नो राजनीतिक भविष्य जनताको विश्वास र समर्थनमा निर्भर रहेको उल्लेख गर्दै आफू जनतामाथि विश्वास गर्ने व्यक्ति भएको बताए।
‘मलाई जनताले नै अगाडि बढाउने हुन्। मेरो राजनीतिक भविष्य कसैले किनबेच गरेर निर्धारण गर्न सक्दैन,’ भन्ने आशय व्यक्त गर्दै पटेलले सरावगीको अभिव्यक्तिले आफ्नो राजनीतिक अडानमा कुनै फरक नपर्ने संकेत गरेका छन्।
पटेलको उक्त अभिव्यक्तिसँगै पर्साको राजनीतिक वृत्तमा सरावगी र पटेलबीचको अभिव्यक्तिगत विवाद चर्चाको विषय बनेको छ।