पर्सा । पर्साको धोविनी गाउँपालिकामा सामुदायिक सिकाइ केन्द्र (CLC) को प्रभावकारी सञ्चालन, संस्थागत सुदृढीकरण तथा दिगोपन सुनिश्चित गर्ने उद्देश्यले स्थानीय तहसँग पैरवी तथा समन्वयसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ। कार्यक्रममा सामुदायिक सिकाइ केन्द्रलाई स्थानीय शिक्षा प्रणालीसँग जोड्दै समुदायमा सिकाइका अवसर विस्तार गर्न स्थानीय सरकार र सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।
अकाउन्टेबिलिटी ल्याब नेपाल (Accountability Lab Nepal) को आर्थिक सहयोग तथा सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC), पर्साको प्राविधिक सहयोगमा सञ्चालित ACCESS परियोजनाअन्तर्गत धोविनी गाउँपालिकाको आयोजनामा वडा नं. ४ स्थित गाउँपालिका भवनमा कार्यक्रम गरिएको हो।
कार्यक्रममा सामुदायिक सिकाइ केन्द्रको वर्तमान अवस्था, सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उपाय, स्थानीय शिक्षा प्रणालीसँगको आबद्धता र केन्द्रहरूको दिगोपनका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोगका विषयमा छलफल गरिएको थियो। सामुदायिक सिकाइ केन्द्रलाई समुदायको आवश्यकता र सिकाइसँग सम्बन्धित सवाल सम्बोधन गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने सहभागीहरूको धारणा थियो।
सोही अवसरमा ‘धोविनी गाउँपालिका–सामुदायिक सिकाइ केन्द्र सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८३’ माथि छलफल गरिएको थियो। केन्द्रहरूको व्यवस्थित सञ्चालन, जिम्मेवारीको स्पष्टता, प्रभावकारी व्यवस्थापन तथा संस्थागत सुदृढीकरणलाई लक्षित गरी तयार पारिएको उक्त कार्यविधि छलफलपछि गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो। कार्यविधिको कार्यान्वयनले सामुदायिक सिकाइ केन्द्रको सञ्चालनलाई व्यवस्थित बनाउन तथा स्थानीय तहबाट आवश्यक सहयोग र समन्वय सुनिश्चित गर्न आधार तयार गर्ने अपेक्षा गरिएको छ।
सामुदायिक सिकाइ केन्द्रमार्फत समुदायका नागरिकलाई जीवनोपयोगी सीप सिक्ने अवसर उपलब्ध गराउने, सिकाइको पहुँच विस्तार गर्ने तथा औपचारिक शिक्षाको पहुँचबाट टाढा रहेका व्यक्तिहरूलाई समेत सिकाइ प्रक्रियामा जोड्ने विषयमा कार्यक्रममा विशेष जोड दिइएको थियो। केन्द्रहरूको नियमित सञ्चालन र दीर्घकालीन निरन्तरताका लागि स्थानीय सरकारबाट आवश्यक स्रोतसाधन, संस्थागत सहयोग र कार्यक्रमगत सहकार्य जुटाउन निरन्तर पैरवी तथा समन्वय गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको थियो।
कार्यक्रममा वडाध्यक्षहरू अबास मिया, राजकिशोर प्रसाद कुर्मी, मनाउर अहमद, देवेन्द्र प्रसाद कुर्मी र बन्दु साद तेलीलगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो। गाउँपालिका उपाध्यक्षका प्रतिनिधि श्याम प्रसाद कुर्मी, शिक्षा शाखा प्रमुख जितेन्द्र प्रसाद चौहान, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, बाल क्लबका प्रतिनिधि, अकाउन्टेबिलिटी ल्याब नेपालका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी थिए।
त्यसैगरी, सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC), पर्साका कार्यकारी निर्देशक रुपक पाण्डेय तथा साझेदार संस्थाका अमरेश यादव, दिपेश पटेल, अकलेश साह, विशाल गुप्ता, गोविन्द पटेल, निरज पटेल र मुना पटेललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमले सामुदायिक सिकाइ केन्द्रको सञ्चालन तथा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन, स्थानीय शिक्षा प्रणालीसँग तिनको सम्बन्ध सुदृढ गर्न र समुदायमा आधारित सिकाइका अवसर विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय सरकार, विद्यालय, नागरिक समाज तथा अन्य सरोकारवालाबीचको समन्वय र सहकार्यलाई संस्थागत गर्दै सामुदायिक सिकाइ केन्द्रलाई दिगो तथा प्रभावकारी बनाउने दिशामा कार्यक्रम महत्त्वपूर्ण हुने विश्वास लिइएको छ।