पर्सा । नापी कार्यालय पोखरियाका प्रमुख बब्लु पाण्डेमाथि दुर्व्यवहार र दबाब दिएको आरोप लागेका पूर्व लेखापढी व्यवसायी सङ्घका अध्यक्ष रामाशिष साह गोढलाई प्रहरीले अनिवार्य उपस्थित हुने शर्तमा जिम्मा जमानीमा छाडेपछि उनले पत्रकार सम्मेलन गरी आफ्नो पक्ष राखेका छन्। तर, उनको सफाई र पत्रकार सम्मेलनपछि सामाजिक सञ्जालमा सर्वसाधारण तथा स्थानीय सेवाग्राहीहरूले कडा प्रतिक्रिया दिँदै गम्भीर प्रश्नहरू उठाएका छन्।
पत्रकार सम्मेलनको भिडियो सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गोढ र उनका छोरा विनय साह गोढमाथि बिचौलियागिरी, सेवाग्राहीसँग भारी रकम असुली तथा अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन्।
सेवाग्राहीसँग ५० हजार मागेको र बिचौलियागिरी गरेको आरोप
सामाजिक सञ्जालमा सागर शाहले कमेन्ट गर्दै भनेका छन्, "यो दुवै लेखनदासहरू त्यो काम गराउन सेवाग्राहीसँग ५० हजार रुपैयाँ मागेका थिए। सेवाग्राहीले अर्को लेखनदाससँग ५ हजारमा नै काम गराएपछि मालपोत र नापीका कर्मचारीले यो काम किन गरे भनेर रिस पोखिरहेका हुन्। पोखरिया नगरपालिकाका सबैभन्दा ठूला बिचौलिया रामशिष गोढ र उनका छोरा हुन्। लेखापढी र स्थानीय हुनुको धाक देखाएर सेवाग्राहीसँग ठूलो रकम लिने र नापी तथा मालपोत कर्मचारीलाई दबाब दिने काम गर्छन्।"
त्यस्तै, भुवाल कुशवाह र अन्य प्रयोगकर्ताहरूले पनि रामशिष र विनय गोढले आफ्नो पद र पहुँचको दुरुपयोग गरी सरकारी अड्डामा गैरकानुनी काम गराउन दबाब दिने गरेको उल्लेख गरेका छन्।
अकुत सम्पत्ति र अस्वाभाविक घर निर्माणमाथि प्रश्न
पत्रकार सम्मेलनमा आफ्नो बचाउ गरे पनि सर्वसाधारणले उनको सम्पत्तिको स्रोतमाथि समेत प्रश्न उठाएका छन्। नैना कुशवाह, चन्दन चन्द्रवंशी र रेहान खान लगायतका प्रयोगकर्ताहरूले प्रश्न गर्दै लेखेका छन्:
- "तिमीहरू यति धेरै दुधले नै नुहाएका छौ भने २ करोडको घर कसरी बनायौ? लेखापढीको कामबाट मात्र २ करोडको सम्पत्ति कहाँबाट आयो, यसको जवाफ देऊ?"
- "प्रमाण अदालतमा देखाउने हो कि बिचौलियालाई? आफ्नो सम्पत्तिको स्रोत खुलाउनुस्। गाउँघरमा खेतीपाती गर्नेहरूको त्यति महँगो घर छैन। छोरालाई किन र कसको बलमा संरक्षण दिइराखिएको छ?"
रेहान खानले अगाडि थपेका छन्, "जो आफ्नै परिवार र आफन्तको हुन सकेन, उ जनताको कसरी हुन्छ? यस्ता बेइमान र दलालहरूको सम्पत्ति शुद्धीकरण (सम्पत्ति छानबिन) हुनुपर्छ।"
कडा कारबाहीको माग
छानबिन पारदर्शी नभएको र दोषीलाई उम्क्याउन खोजिएको भन्दै सेशमान पटेल, मुस्ताक अली लगायतका सर्वसाधारणले नेपाल सरकार र प्रहरी प्रशासनसँग निष्पक्ष सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
यता, प्रहरीले दुवै पक्षलाई बोलाएर सत्यतथ्य बुझ्ने कार्य भइरहेको र अनुसन्धानका क्रममा दोषी देखिएमा मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढाउने जनाएको छ। सर्वसाधारण र स्थानीय सेवाग्राहीहरूले भने सरकारी कार्यालयहरूलाई बिचौलियामुक्त बनाउन र राष्ट्रसेवक कर्मचारीमाथि धम्की दिने प्रवृत्ति अन्त्य गर्न प्रशासनले खुट्टा कमाउन नहुने बताएका छन्।