काठमाडौं । बाथ रोग भएका व्यक्तिको जीवनमा सपना, लक्ष्य र सम्भावनाको यात्रा रोकिनु हुँदैन भन्ने सन्देशसहित काठमाडौंमा विश्व बाथ रोग दिवसको अवसरमा जनचेतनामूलक साइकल र्याली आयोजना गरिएको छ।
रुमाथोलोजी एण्ड अर्थराइटिस सेन्टर, नक्सालको आयोजनामा सम्पन्न र्यालीले ‘आफ्नो सपना साकार पारौँ’ भन्ने नारामार्फत बाथ रोगसँग संघर्ष गरिरहेका व्यक्तिलाई आत्मविश्वासका साथ जीवनमा अघि बढ्न प्रेरित गरेको छ।
नक्सालबाट सुरु भएको साइकल र्याली बालुवाटार, महाराजगञ्ज, लाजिम्पाट, जमल, रत्नपार्क, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर र न्युरोड हुँदै ऐतिहासिक वसन्तपुर पुगेको थियो। वसन्तपुरबाट विभिन्न स्थान हुँदै पुनः नक्साल फर्किएपछि र्याली समापन गरिएको थियो।
र्यालीमा चिकित्सक, स्वास्थ्यकर्मी, सामाजिक व्यक्तित्व तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी साइकलयात्रीलाई आयोजक संस्थाका अध्यक्ष तथा वरिष्ठ बाथ रोग विशेषज्ञ एवं क्लिनिकल इम्युनोलोजिस्ट डा. अरुणकुमार गुप्ताले पदक, मायाको चिनो र सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो।
बाथ रोगका कारण जोर्नी दुख्ने, सुन्निने तथा शरीर चलाउन कठिनाइ हुने समस्या देखिन सक्ने भएकाले समयमै रोग पहिचान गरी विशेषज्ञ चिकित्सकको परामर्शमा उपचार गराउन आवश्यक रहेको सन्देशसमेत कार्यक्रममा दिइएको थियो।
र्यालीले नियमित शारीरिक गतिविधि, स्वस्थ जीवनशैली र बाथ रोगसम्बन्धी जनचेतनाको महत्त्वलाई उजागर गरेको आयोजकले जनाएको छ। साथै, बाथ रोगबाट प्रभावित व्यक्तिले उचित उपचार र आत्मविश्वासका साथ आफ्ना सपना तथा लक्ष्य पूरा गर्न सक्छन् भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ।
‘बाथ रोग छ भन्दैमा जीवन रोकिन्न, दुखाइ छ भन्दैमा सपना टुट्दैन’ भन्ने सन्देशसहित सम्पन्न र्यालीले बाथ रोगलाई जीवनको अन्त्यका रूपमा नभई उचित उपचार, आत्मबल र सकारात्मक सोचका साथ सामना गर्नुपर्ने स्वास्थ्य चुनौतीका रूपमा बुझ्न आह्वान गरेको छ।
‘आफ्नो सपना साकार पारौँ, बाथ रोगलाई होइन, आफ्ना सपनालाई जितौँ’ भन्ने प्रेरणादायी सन्देशका साथ कार्यक्रम सम्पन्न भएको हो।