जनकपुरधाम । सामाजिक सञ्जाल फेसबुकमा खुकुरी प्रदर्शन गर्दै डरत्रास फैलाउने प्रकृतिको तस्बिर पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१३, धाताटोलका १८ वर्षीय सुमन पटेललाई आइतबार साँझ आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार पटेलले फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गरी डरत्रास फैलाउने किसिमको तस्बिर अपलोड गरेको आरोप छ।
नियन्त्रणमा लिइएका पटेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, घटनासम्बन्धी प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।