बारा । बाराको सुवर्ण गाउँपालिकास्थित सीमा क्षेत्रबाट भन्सार छली गरी भारतबाट नेपाल भित्र्याउँदै गरिएको कपडा र तीनवटा मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको कपडा र मोटरसाइकलको अनुमानित मूल्य ११ लाख ४६ हजार रुपियाँ रहेको छ । बरामद सामग्रीमध्ये छ लाख ९६ हजार रुपियाँबराबरका साडी तथा धोती र चार लाख ५० हजार रुपियाँबराबरका तीनवटा मोटरसाइकल रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीका अनुसार असोज २७ गते राति सुवर्ण गाउँपालिका–३, पचगछिया क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले उक्त सामग्री नियन्त्रणमा लिएको हो ।
सीमा क्षेत्रमा नियमित गस्तीका क्रममा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म पिपरपाती र बोर्डर आउट पोस्ट (बीओपी) बेनौलीबाट खटिएको संयुक्त टोलीलाई देखेपछि केही व्यक्ति भाग्ने प्रयास गरेका थिए । सो क्रममा एक जनालाई नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा देवताल गाउँपालिका–३, अमवा निवासी २८ वर्षीय हरिप्रसाद यादव रहेका छन् । घटनास्थलबाट बीआर ०५ एम ७४८९, बीआर ०५ सी ९६२१ र बीआर ०५ के ४६७५ नम्बरका तीनवटा मोटरसाइकलसमेत बरामद गरिएको छ ।
भन्सार छली गरी सामान ओसारपसार गर्ने गतिविधि नियन्त्रणका क्रममा बरामद सामग्रीसहित पक्राउ परेका यादवलाई आवश्यक कानुनी कारबाहीका लागि बुधबार वीरगन्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सूचना अधिकारी अधिकारीले जानकारी दिनुभयो ।
भन्सार छलीबाट हुने राजस्व चुहावट नियन्त्रण गर्न सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी र गस्तीलाई निरन्तरता दिँदै आएको छ ।