सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बुद्धि पन्त (हरि)ले सल्यानमा ‘हामी आउँदै छौँ’ अभियानको समापन फरक शैलीमा गरेका छन्। असोज २० गतेदेखि २७ गतेसम्म सञ्चालित अभियानका क्रममा स्थानीयका गुनासा र समस्या सम्बन्धित सरकारी निकायसमक्ष पुर्याउँदै उनले अभियानको समापन गरेका हुन्।
अभियानअन्तर्गत कालीमाटी, त्रिवेणी, कपुरकोट र छत्रेश्वरीलगायतका पालिकामा पुगेका सांसद पन्तसमक्ष स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकले जिल्लामा सामान्य समस्यासमेत समाधान हुन नसकेको, स्थानीय तहमा भ्रष्टाचार र अनियमितता बढेको तथा अवैध क्रसर सञ्चालनलगायतका विषयमा प्रहरी र प्रशासनको भूमिका प्रभावकारी नभएको गुनासो गरेका थिए।
स्थानीयका गुनासोपछि सांसद पन्तले प्रमुख जिल्ला अधिकारीलाई सम्बन्धित सरकारी निकायका प्रमुखहरूसँग बैठक राख्न आग्रह गरेका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालय सल्यानमा प्रमुख जिल्ला अधिकारी बन्दनाकुमारी केसीको अध्यक्षतामा बैठक बसेको थियो।
बैठकमा उठेका समस्या र प्रश्नबारे सम्बन्धित कार्यालयका प्रमुखहरूले जवाफ दिँदै जिल्लास्तरबाट समाधान गर्न सकिने विषय तत्काल सम्बोधन गर्ने र अन्य विषय सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने प्रतिबद्धता जनाएका थिए।
बैठकमा शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र बुढा, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पातली, विद्युत् प्राधिकरणका प्रमुख नरेशदत्त रावल तथा भौतिक पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख सिद्धार्थ मिश्रलगायतको उपस्थिति थियो।
अभियानका क्रममा सांसद पन्तले स्थानीय चुनावलाई लक्षित गर्दै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई उम्मेदवार छनोट प्रक्रिया, ‘क्यान्डिडेट क्लब’मा आबद्ध हुने चरण र पार्टीको संगठन निर्माणबारे प्रशिक्षणसमेत दिएका थिए।
उनले पार्टीको विधि र विधानभन्दा बाहिर गएर कसैले पनि टिकट नपाउने स्पष्ट पार्दै संगठन निर्माण र पार्टी तथा सरकारले गरेका राम्रा काम जनतामाझ पुर्याउन कार्यकर्तालाई निर्देशन दिएका थिए। अभियानमा रास्वपा सल्यानका जिल्ला सभापति प्रकाश नेपाली, नेता रामबहादुर केसी, खड्ग बुढा, लालबहादुर विकलगायत सहभागी थिए। स्थानीयका समस्या सम्बन्धित निकायसमक्ष पुर्याएर समाधानका लागि पहल गर्नु अभियान समापनको मुख्य विशेषता बनेको छ।