काठमाडौं । पाँच दलीय गठबन्धन एमसीसी प्रतिनिधि सभा बैठकमा टेबल गर्ने सहमति बनाउन प्रधानमन्त्री निवासमा बैठक बसिरहँदा सो गठबन्धनमा आबद्ध माओवादी र एकीकृत समाजवादीका कार्यकर्ता सडकमा आन्दोलन गर्दै थिए ।
आइतबार प्रतिनिधि सभा भित्र गठबन्धनकै सहमतिमा सरकारले एमसीसी सम्झौता टेबल गरिरहँदा बाहिर बानेश्वरको सडकलाई माओवादी र समाजवादीका कार्यकर्ताले रण मैदान बनाएका थिए । भित्र सरकारका साझेदार दलहरू मिलीजुली सम्झौता टेबल गर्दै थिए । बाहिर तिनै राजनीतिक दलका कार्यकर्ताहरु सरकाको विरोधमा प्रहरीलाई इँटा र ढुङ्गा बर्साउँदै थिए ।
भित्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालकै समर्थनमा गठबन्धन सरकारका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की एमसीसी देशको हितमा छ भनेर भाषण गर्दै हुनहुन्थ्यो बाहिर त्यही गठबन्धन सरकारका दलका कार्यकर्ता प्रहरी विरुद्ध खनिएका थिए । बार भत्काउँदै थिए । निषेधित क्षेत्र तोड्दै थिए ।
लगातार प्रहार भएको ढुङ्गा र इँटा प्रहरीले छेक्न सकेन प्रहरी घाइते हुन लागे । प्रहरीले पानीका फोरा हान्यो । त्यसले पनि थेगेन । टीयर ग्यास प्रहार गर्यो । तै पनि भिड नियन्त्रण भएन । प्रहरीले लाठी हान्यो । प्रदर्शनकारीले इँटा र ढुङ्गा हाने । दुवै तिर घाइते भए ।
आन्दोलनमा निस्किएकालाई सरकारमा रहेका दलकै आर्सीवाद र उक्साहट थियो । त्यसैले उनीहरू प्रहरीलाई ढुङ्गा हानिरहेका थिए । प्रहरीलाई पनि त्यही सरकारको निर्देशन थियो । त्यसैले प्रहरी भिड नियन्त्रणमा लागेको थियो ।
भिडन्तमा आन्दोलनकारी पनि घाइते भए । प्रहरी पनि घाइते भए । प्रहरीको लाठी लागेर घाइते भएका आन्दोलनकारीलाई अस्पताल पुर्याउनु पर्यो ।
ढुङ्गा लागेर रक्तमुछेल भएका प्रहरीलाई पनि अस्पताल पुर्याउनु पर्यो । घाइते भए सामान्य नेपाली जनताकै छोराछोरी, ती प्रहरी हुन् वा आन्दोलनकारी ।
सडकमा प्रहरी र आन्दोलनकारीलाई जुधाएर प्रचण्ड र माधव नेपाल भने प्रतिनिधि सभा भित्र चैनले बसिरहनुभएको थियो । किनकि त्यो आन्दोलनमा उहाँहरूका छोरा छोरी थिएनन् । आन्दोलनकारीको ढुङ्गा र इँटा खाने प्रहरीमा उहाँहरूका आफन्त थिएनन् ।
आफैँ सरकारमा बस्ने । आफैँ एमसीसी बैठकमा टेबल गर्ने भनेर निर्णय गर्ने । अनि कार्यकर्तालाई भने भिड्न सडकमा पठाउने र सडकलाई रण मैदान बनाउने ।
कि टेबल गर्ने कुरामा असहमति छ भन्नु पर्यो । कि हाम्रो सहमति छ, आन्दोलन नगर भन्नु पर्यो । कि त हाम्रा कार्यकर्ता हाम्रो नियन्त्रणमा छैनन्, हामीले भनेको टेर्दैनन् भन्नु पर्यो । वा ती आन्दोलनकारी हाम्रा मान्छे होइनन् भन्नु पर्यो ।
दिनभरिको रणसंग्राम पछि दुवै नेताले लाजै नमानी सामाजिक सञ्जालमा लेख्नुभयो, ‘एमसीसी टेबुल गरेको विरोधमा उत्रिएका आन्दोलनकारी माथि भएको दमनको विरोध गर्दछौँ’, भनेर ।
कस्तो लाज पनि नभएको आफैँ सरकारमा बस्ने, आफैँ कार्यकर्तालाई आन्दोलनमा पठाउने, आफैँ सरकारको तर्फबाट आन्दोलनकारीलाई रोक्न प्रहरी लगाउने, अनि फेरी दमन भयो भनेर विरोध जनाउने । आफ्नो विरोध आफैँ गर्ने ?
आइतबार साँझ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाजै नमानी सामाजिक सञ्जाल फेसबुकमा यस्तो स्ट्याटस हाल्नुभयो, ‘विवाद र विरोधका बिच सरकारले एमसीसी टेबुल गरेको छ, हाम्रो पार्टी र संसदीय दलले यथास्थितिमा एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ, एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारी माथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
कस्तो निर्लज्जता । कसरी बोल्न सकेको होला । यस्तो बेइमानी पनि गर्न सकिन्छ राजनीतिमा । अलिकति लाज त हुनपर्छ नि ।
आफू आफैँलाई म प्रधानमन्त्री त होइन, तर प्रधानमन्त्री भन्दा कम छैन भन्दै हिँड्ने । अनि आफैँ आफ्ना कार्यकर्तालार्य प्रहरी लगाएर कुटाउने । कार्यकर्ता लगाएर प्रहरीलाई ढुङ्गा हान्न लगाउने । अनि सामाजिक सञ्जालमा गोहीका आँसु झार्ने ।
प्रचण्डको मतियार बन्दै आउनुभएका माधव नेपाल झन् के कम । उहाँले पनि प्रचण्डकै भाषा सामाजिक सञ्जालमा कपि पेष्ट गर्नुभएको छ । ‘असहमति र विरोधका बिच संसदमा टेबल गरिएको विषय प्रति केवल सांसदहरूको मात्र होइन सबै तहका जनताको विरोध वा समर्थन हुन सक्दछ, यसो गर्न पाउनु हाम्रै संघर्षबाट स्थापित लोकतान्त्रिक एवम् जनताको अधिकारको विषय हो, अतः संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै गरिएको प्रदर्शनमा गरिएको दमन र बल प्रयोगप्रति गम्भीर असहमति सहित विरोध गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना एवम् उहाँहरूको सम्पूर्ण रूपमा उपचार व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछु’, सामाजिक सञ्जालमा माधव नेपालले लेख्नु भएको छ ।
बैठकमा सहमति जनाउने, फेसबुकमा असहमति जनाउने ? सरकारले बल प्रयोग गरेको प्रति गम्भीर असहमति जनाउनेले त्यही सरकारमा लाजै नमानी बसिरहन मिल्छ ? गम्भीर असहमतिका बिच सहकार्य हुन्छ ? पति पत्नीका बिच गम्भीर असहमति भयो भने त सम्बन्ध विच्छेद हुन्छ । अनि तपाईँहरूका चाही गम्भीर असहमति हुँदा पनि टाँसिई रहनुपर्छ ?
कतिसम्मको सत्ता मोह हो ? कतिसम्मको बेइमानी हो जनता र कार्यकर्ता माथि ? कतिसम्म झटको खेती गर्न सकेको ?
यस्ता नेताको पछि नेपाली जनताले कहिलेसम्म लाग्ने होला । अनि कहिलेसम्म दुःख पाउने होला ?