केन्द्रको मेसिन अवलोकन गर्न सानोठिमी पुगेका प्रमुख आयुक्त थपलियाले तोकेको समयमै काम सम्पन्न गर्न निर्देशन दिएका थिए । उनले सम्भौताअनुसार काम सम्पन्न गर्न निर्देशन दिदै केन्द्रको क्षमता देखाउन आग्रह गर्नुभएको थियो। त्यस क्रममा केन्द्रका महाप्रबन्धक अनिलकुमार भाले आयोग र सरकारको निर्देशनअनुसार काम गर्ने बताएका थिए ।
दिउँसो करिब २ बजे केन्द्र पुगेको आयोगका पदाधिकारीसहितको टोली करिब आधा घण्टासम्म केन्द्रको छापाखाना, बन्दोबस्तीको अवस्था, कागज, मसी र अन्य कच्चा पदार्थको अवस्थालगायतको बारेमा जानकारी लिएका थिए। केन्द्रले वैशाख २० गतेभित्र करिब २ करोड मतपत्र छपाइ र प्याकिङ गर्ने जनाएको छ।
मतदान केन्द्रअनुसार फरकफरक प्याकिङ गरी प्लास्टिकको भोलामा राख्ने व्यवस्था गरेको छ । केन्द्रले छपाइ र प्याकिङको जिम्मा लिएको छ। आयोगले केन्द्रबाटै ढुवानी गर्नेछ। आयोगले उपत्यकाबाहेक अन्य जिल्लामा समयमै मतपत्र पुचाउनेछ। यसअघि नियमित पत्रकार सम्मेलनका क्रममा आयोगले अति दुर्गम क्षेत्रमा हवाईमार्गबाट मतपत्र ढुवानी गर्ने जनाएको थियो।