१७ वर्षीया किशोरीको पेटमा अड्किएको चम्चा शल्यक्रिया नै नगरी निकालिएको छ। थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले आमाशयमा अड्किएको चम्चा निकालेका हुन्।
नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले इन्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो। काठमाडौंंकी १७ वर्षीया किशोरीले झुक्किएर चम्चा निलेकी थिइन्। चम्चा निकाल्दा किशोरीलाई कुनै चोट नलागेको अस्पतालले जनाएको छ।
चम्चा नै निलेर आमाशयमा अड्किनु जटिल घटना हो। यस्ता घटनामा शल्यक्रिया नै गरेर चम्चा निकालिने गरेपनि डा. कुँवरको टिमले सुरक्षित तरिकाले इन्डोस्कोपी गरी निकालेको हो। शल्यक्रिया नगरी आमाशयबाट सुरक्षित तरिकाले यसरी चम्चा निकालेको नेपालमा पहिलो घटना भएको डा. कुँवरले दाबी गरे।
उनी नेतृत्वको टिमले यसअघि बच्चाहरूले झुक्किएर निकालेको सिक्का, झुक्किएर निलेको पिन र ठूलाले झुक्किएर निल्दा अड्किएको हड्डी समेत बिना शल्यक्रिया नै निकाल्दै आएका छन्।
‘साइक्ट्रेकि इलनेश टाइपको बिरामीले पानी खाने क्रममा झुक्किएर चम्चा निलेको बताउनुभयो। यस्तो बिरामीहरूलाई वाकवाक गरिरहन पर्ने र वाकवाकी गराउनका लागि चम्चा घाँटीतिर हाल्दा झुक्किएर निलेको देखिन्छ,’ उनले भने, ‘आमाशयमा गएर अड्किएको रहेछ। आन्द्रातिर जान नपाएको अवस्थामा हामीले सुरक्षित ढंगले चम्चा निकालेका हौं।’
आमाशयमा अड्किएको चम्चा ४५ मिनेटमा निकालिएको थियो।
‘चम्चा निकाल्ने क्रममा कतै पनि कुनै चोट वा घाउ समेत लागेन,’ उनले भने, ‘हाम्रा लागि नयाँ सफलता र नयाँ अनुभव दिने घटना पनि हो यो।’
आइतबार चम्चा निलेर आएकी बिरामीलाई रातभर अब्जरभेसनमा राखेर सबै अवस्था नर्मल देखिएपछि सोमबार बिहान डिस्चार्ज गरिसकिएको छ।