काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७१औँ जन्मजयन्ती मनाइँदैछ । ७१ औं मदन जयन्ती विभिन्न कार्यक्रम गरी मनाउन लागिएकाे हाे । जननेता भण्डारीको जन्मजयन्तीका अवसरमा नेकपा एमाले,एमालेका भ्रातृ संगठन र मदन भण्डारी फाउण्डेसनले विभिन्न कार्यक्रम आयाेजना गरेका छन् ।
फाउण्डेशनले मदन जयन्तीका अवसरमा असार १० गतेदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको छ । शुक्रबार मदन भण्डारी कलेजमा छलफल श्रृंखला र रक्तदान कार्यक्रम आयोजना गरेको थियो । असार ११ गते कीर्तिपुरमा प्राज्ञिक अन्तरसंवाद, १२ गते सञ्चारकर्मीसँग अन्तक्रिया र १३ गते नेपालमा सडक सुरक्षाबारे संवाद सम्पन्न भभइसकेकाे छ । आज राष्ट्रिय सभागृहमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भव्य कार्यक्रम हुँदैछ । कार्यक्रममा 'जबज : राष्ट्र निर्माणको आधार' विषयमा प्रवचन र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण हुनेछ । असार १५ गते राष्ट्रिय गीत तथा ‘श्वेतशार्दुल’ को पाँचौँ अंकको सार्वजनिक गरिने कार्यक्रम छ । असार १६ गते लोकतान्त्रिक आन्दोलनका योद्धालाई सम्मान गरिनेछ ।
भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको मैवाखोला गाउँपालिका-२ ठोट्नेमा भएको थियो । आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रुपमा मदन भण्डारीको जन्म भएको थियो । ०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा दासढुंगामा जी दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो । साे दुर्घटना अहिलेसम्म रहस्यमय छ ।
४१ वर्षकै उमेरमा निधन हुनुभएका भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नविन प्रयोगकर्ता, विचारक तथा 'जनताको बहुदलीय जनवाद' सिद्धान्तका प्रवर्तक हुनुहुन्थ्याे । कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन जनताको बहुदलीय जनवादको सैद्धान्तिक कार्यक्रम ल्याउनुभएका भण्डारीको नेपाली कम्युनिष्ट आन्दाेलनमा विशेष योगदान छ ।
नेपालकाे कम्युनिष्ट आन्दाेलन र लाेकतान्त्रिक आन्दाेलनलाई उचाइमा पुर्याउन भण्डारीले विशेष याेगदान गर्नुभएकाे छ । उहाँलाई जननेता मानिन्छ ।नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि भण्डारीले 'जनताको बहुदलीय जनवाद जबज' को सिद्धान्त प्रतिपादन गर्नुभएकाे थियाे ।
शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई जबजले प्राथमिकता दिएकाे छ । जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो । नेपाली भूराजनीतिक अवस्थालाई ध्यान दिँदै भण्डारीले माक्सवाद-लेलिनवादको सिर्जनात्मक प्रयोगका रूपमा ०४९ माघ (१४-२०) मा सम्पन्न पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको 'जबज' कम्युनिष्ट पार्टीको लोकतान्त्रिकीकरणका लागि पृथक र लोकप्रिय मानिन्छ ।
जबजलाई शान्तिपूर्ण र लोकतान्त्रिक पुँजीवादी क्रान्ति हुँदै समाजवादको लक्ष्यमा जाने प्रमुख आधारशीला मानिन्छ । पछिल्लाे समय माओवादीले पनि भण्डारीकै सिद्धान्त अवलम्बन गरेकाे छ । यद्यपि उसले त्याे स्वीकार भने गर्दैन । एमालेबाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादीले पनि जबज नै अंगालेकाे छ । सरकारले मदन भण्डारीकाे सम्मानमा विभिन्न लाेकमार्गकाे नामकरण गरेकाे छ । मदन भण्डारीका नाममा फाउण्डेशनदेखि, प्रतिष्ठान, केन्द्र, कलेजलगायत सञ्चालन छन् ।