निर्मला कुर्मीको घटनाको अनुसन्धान गर्न सरकारलाई अझै केही समय लाग्नसक्ने भएकाले माइतीघर छाडेर घर फर्कन पीडितहरूलाई गृहमन्त्रीको आग्रह । तर यस घटनामा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा नछाड्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता ।
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै धर्नामा बसिरहेका महिला अधिकारकर्मीहरूलाई धर्ना रोकेर घर फर्कन आग्रह गर्दै दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।माइतीघरमा रुबी खानको नेतृत्वमा धर्ना बसेका महिला अधिकारकर्मीहरूलाई शनिबार भेटेर गृहमन्त्री लामिछानेले धर्ना स्थगित गरेर घर फर्कन आग्रह गरेका हुन् । पीडितहरूले धर्ना बसेर प्रदर्शन गरिदिँदा अनुसन्धान प्रभावित हुनसक्ने भन्दै गृहमन्त्री लामिछानेले आफूले दोषीलाई कुनै हालतमा पनि कारबाही गर्ने बताए । तर यो मुद्दा जटिल बन्दै गएकाले अनुसन्धानमा केही समय लाग्नसक्ने उनको भनाइ छ ।निर्मला कुर्मीले न्याय नपाएपछि माइतीघरमा महिला अधिकारकर्मीहरूले लालटिन बालेर प्रदर्शन गरेपछि गृहमन्त्री लामिछाले त्यहाँ पुगेर पीडितहरूलाई भेट गरेका हुन् ।'अघिल्लो सरकारबाट भएका अनुसन्धानमा पनि केही त्रुटि भए होलान् । त्यसलाई पनि सच्याउनु पर्नेछ । मैले यो घटनालाई अति संवेदनशील रुपमा लिएको छु । यसमा संलग्न व्यक्तिहरूमाथि पनि कारबाही हुन्छ । तपाइँहरूलाई म विश्वस्त बनाउन चाहन्छु । तपाईँहरू यो चिसोमा यसरी दुख पाएर बस्दा मलाई पनि सहज लागिरहेको छैन । तपाईँहरू यसरी धर्ना नबसे पनि सरकारले गर्ने कारबाही गरिरहेको हुन्छ । त्यसैले यो चिसोमा नबसेर घरमा गइदिनुहोला । बरु सरकारले के सहयोग गर्नु पर्छ त्यसका लागि म तयार छु,' गृहमन्त्री लामिछानेले भनेका थिए ।प्रदर्नकारीहरूको पक्षबाट रुवी खानले यो सरकारबाट न्याय पाउनेमा आफूहरू आशावादी रहेको प्रतिक्रिया दिएकी थिइन् । साथै धर्ना नछाड्ने बरु सरकारलाई अनुसन्धानमा सहयोग गर्न आफूहरू तयार रहेको खानको अडान थियो ।