वीरगन्ज । नेकपा एमालेले विघटित पर्सा जिल्ला कमिटीका सचिव एवं छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्तासहितका नेतामाथिको निलम्बनको कारवाहीको सिफारिश नै बदर भएको छ। आईतबार बिहान बसेको स्थायी कमिटी बैठकले गुप्तासहितका केही कार्यकर्ता माथिको गरिएको कारवाहीको सिफारिश नै बदर भएको नेकपा एमालेका केन्द्रीय महासचिव ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गर्दै जानकारी दिए ।
एमालेले जिल्ला कमिटी पर्साका अध्यक्ष जयप्रकाश थारुले समीक्षा नगरी आफ्नो व्यक्तिगत रिसभिले गुप्तासहितका कार्यकर्ताहरु माथि विभिन्न किसिमको आरोप लगाई पार्टी हित र विधान विपरीत काम गरेको भन्दै ३ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरि कारवाहीको माग गरेको थियो ।
मिति २०७९ चैत्र ७ गतेको पत्र अनुसार तीन महिनाका लागि पार्टीबाट निलम्बन गरिएको सन्दर्भमा सम्बन्धित प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटीका सचिव, प्रदेशसभा निर्वाचन समन्वय कमिटीका संयोजक र ६ वटा पालिका कमिटीका अध्यक्षहरूले सम्बन्धित तहको निर्वाचनको समीक्षा नगरी तथा सम्बन्धित तहको कमिटीको जानकारी बिना जिल्ला अध्यक्ष थारूको सिफारिसमा गरिएको कारबाही विधिसम्मत नरहेको भन्दै कारबाही बदर भएको विज्ञप्तिमा उल्लेख छ ।
गुप्तासहितका कार्यकर्ताहरुलाई जिम्मेवारी अनुसार पार्टी काममा सक्रिय हुन र अभियोग तथा कारबाहीको सिफारिसका सन्दर्भमा देखिएको विवादका बारेमा आवश्यक छानविनका लागि केन्द्रीय संगठन विभागलाई जिम्मेवारी प्रदान गरिएको विज्ञप्तिमा पनि उल्लेख छ ।
पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरेको तत्कालीन अध्यक्ष जयप्रकाश थारु माथि कार्यवाही हुनु पर्नेमा उल्टै हामीमाथि सिफारिश गरियो तर जो होस सत्यको जित भएको गुप्ताले बताए ।