वीरगञ्ज । वीरगञ्जको इतिहास र पहिचानसँग सम्बन्धित गहवामाई नवनिर्मित मन्दिरको वार्षिकोत्सवको अवसरमा निकालिएको रथयात्रा बारे सङ्घीय संसद्लाई जानकारी गराइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद् विना जयसवाल कुर्मीले गहवामाईको नवनिर्मित मन्दिरको ११ औं वार्षिकोत्सवको अवसरमा आज मङ्गलबार निकालिएको रथयात्राको बारेमा सङ्घीय संसद्मा जानकारी गराएकी हुन् ।
रथयात्रा बारे जानकारी गराउँदै उनले भनिन्, “पर्साको वीरगञ्जस्थित गहवामाईको नवनिर्मित मन्दिर स्थापनाको ११ औं वार्षिकोत्सवको अवसरमा आज मङ्गलबार पहिलो पटक लाखौँको उपस्थितिमा रथयात्रा निलाइएको छ । अब प्रत्येक वर्ष मन्दिर स्थापना दिवसको अवसर पारेर रथ यात्रा निकाल्ने महानगर र स्थानीय समितिको योजना छ ।’
देशको धर्म संकृति र मौलिता बचाउने र सनातनीहरुलाई थप ऊर्जा दिने पहलका लागि वीरगञ्ज महानगर र समितिप्रति आभार पनि प्रकट गर्दै कुर्मीले रथयात्रा जस्ता पहल देशको कुनाकुनामा गरियो भन्ने उनले कामना पनि गरिन ।
गहवामाईको नवनिर्मित मन्दिर स्थापना भएको ११ औं वार्षिकोत्सवको अवसरमा मङ्गलबार भव्य रथयात्रा निकालिएको थियो । मन्दिरकै आकारमा निर्मित रथयात्रा वीरगञ्ज महानगरको विभिन्न स्थानमा परिक्रमा गर्दै पुन: मन्दिर अगाडि पुगेर विषर्जित भएको थियो ।