काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिलाएर छाड्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।
आइतबार नयाँ बानेश्वरस्थित मिटरब्याज पीडित धर्ना स्थलमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिने आन्दोलन नरोकिने र हर हालतमा न्याय प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयाे
पीडितहरुलाई न्याय दिनका लागि सरकारले अध्यादेश ल्याएको र अध्यादेशको अवधि सकिएको कारणले निष्क्रिय भएको उहाँले बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज सम्बन्धी विधेयक सदनमै रहेकाे र त्यसलाई पारित गर्ने प्रक्रिया अगाडि बढाइने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'अध्यादेशकाे अवधि सकिएकाे कारणले अध्यादेश निष्क्रिय भएकाे छ, त्यसैले तपाइँहरु चिन्तित हुनुहुन्छ हाेला, तर तपाइँहरुलाई भन्छु, विधेयक संसद्मा छ, अस्वीकार भएकाे हाेइन, त्यसकारण विधेयक पारित गरिने पक्रिया अगाडि बढाइनेछ, कानुन बनाइ छाडिनेछ, न्यायकाे आन्दाेलनलाई कुनै पनि हालतमा पूरा नगरी छाडिनेछैन, तपाइँहरु ढुक्क हुनुभए हुन्छ ।'
अध्यादेश निष्क्रिय भएपनि आयोगमार्फत मिटरब्याज पीडितहरुलाई न्याय दिने काम नरोकिने उहाँले दाबी गर्नुभयाे । अध्यादेश जारी हुनुभन्दा अगाडि गठन भएकाे आयाेगकाे काम पनि जारी रहने गृहमन्त्री श्रेष्ठले बताउनुभयाे । हरेक जिल्लामा गठन भएकाे सहजीकरण समितिले अहिले पनि काम जारी राखेकाे भन्दै उहाँले त्यसले पनि काम जारी राख्ने बताउनुभयाे ।
मिटरब्याज सामन्ती शोषणको निकृष्ट अवशेष भएकाले शोषणको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको पनि श्रेष्ठले बताउनुभयो ।