काठमाडौं। त्रिभुवन विमानस्थलको एक क्विन्टल सुन प्रकरणमा अधिकृतसहित ३ कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् ।
सुन प्रकरणमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार तथा जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका छन् । सुनलाई भन्सार पास गराउने कार्यमा संलग्न रहेको आरोपमा एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा समेत पक्राउ परेका छन् ।
छानविन गरिरहेको राजस्व अनुसन्धान विभागको विशेष टोलीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो । उनीहरु पक्राउ परेपछि सुन प्रकरणमा समातिनेको संख्या १६ पुगेको छ ।
तस्करी गरेर ल्याइएको सुन जाँचपासमा संलग्न अधिकृतसहित ३ कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ गरी म्याद थपको लागि पठाइएको विभागले जनाएको छ । गएको मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत एक सय किलो सुन स्कुटरको ‘ब्रेक शू’ मा लुकाएर काठमाडौं ल्याइएको थियो । सुन भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बरामद गरेको हो ।