वीरगञ्ज । सुन तस्करी प्रकरणमा आफ्नै सरकारका मन्त्रीको राजीनामा माग्ने सत्ता साझेदार दल नेपाली काङ्ग्रेसका सांसद सुनिल शर्मा आज पक्राउ परेका छन् ।
नेपाल प्रहरी उच्च श्रोतका अनुसार डाक्टरी पढ्नका निमित्त प्लस टुको नक्कली सर्टिफिकेट बनाएको आरोपमा उनलाई सिआइबीले पक्राउ गरेको हो । उनलाई काठमाडौँको गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको जनाइएको छ ।
उनले केही अघि सुन तस्करी प्रकरणमा संसद्मै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशरण महतको राजीनामा माग्दै अनुसन्धान गर्नुपर्ने पनि बताएका थिए ।
शर्मालाई सिआइबीले पक्राउ गरेको जानकारी दिँदै काङ्ग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारमाथि प्रश्न उठाएका छन् ।
उनले लेखेका छन्, ‘केही दिनदेखि सुन तस्करीको विषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सीआइबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो ? संसद चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्वीकृति दिएका हुन्? कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन् ।’