पोखरीया । पर्साको पोखरीया नगरपालिकामा रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रद्वारा प्रसारित इलाकामा विद्युत चोरी गर्ने १२ जना व्यक्तिहरुलाई पक्राउ गरिएको छ । नेपाल विद्युत प्राधिकरण पोखरीया वितरण केन्द्रको चुहावट टोली , इलाका प्रहरी कार्यालय पोखरीया र सशस्त्र प्रहरी बल पोखरीयाको सँयुक्त अनुगमन टोलीले विधुत चोरीमा संलग्न १२ जनासहित एउटा स्टेपलाइजर नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नं ५ पटनी बस्ने हफिज मियाँ , ठोरी गाउँपालिका वडा नं १ जानकीनगर बस्ने सरण सुनार , वडा नं २ शिवभन्जार बस्ने सुनिल महतो , चौकबजार बस्ने विनोद चौधरी , टाउनप्लान बस्ने दिपु महतो , परमेश्वर चौधरी , पूर्नाशी महतो थारु , मधु महतो , मिथुन चौधरी , रामप्रसाद श्रेष्ठ , रामनगर बस्ने टेकबहादुर लामा र गोपिबस्तु बस्ने मानबहादुर लामा रहेका छन् ।
अनुगमन टोलिले हुकिङ गरि घरमा बिधुत लगाइएको पाईएपछि नियन्त्रणमा लिएको जनाएको छ । विधुत चोरी नियन्त्रण अभियान अन्तर्गत प्राधिकरणसहित प्रहरीको सँयुक्त टोलीले गएराती १० बजेतिर उनीहरुको घरमा हुकिङ गरी बिधुत चोरी गरेको भेटेको थियो । सबैलाई इलाका प्रहरी कार्यालय पोखरीयामा राखेर कार्वाहीको प्रक्रिया अघि बढाईएको जनाईएको छ ।