काठमाडौं । प्रतिनिधिसभा बैठक २९ दिनको अवरोधपछि बुधबार संचालन भएको छ । लामो समय अवरुद्ध संसद खुलाउन सत्ता र प्रतिपक्षबीच सहमति भएर त्यसको कार्यान्वयनसँगै प्रतिनिधिसभा बैठक सुचारु भएको हो ।
संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने कार्यसूचीे छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउने लगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरण अनुसन्धानको लागि उच्चस्तरीय स्वतन्त्र न्यायिक समिति बनाउन माग गर्दै साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पार्दै आएको छ । तर सरकाररले भने सुन तस्करी प्रकरण प्रहरीको केन्द्रीय अनुस्धान ब्यूरो (सीआइबी) ले छानविन गरिरहेको भन्दै उच्चस्तरीय समिति आवश्यक नपर्ने बताउँदै आएकाने थियो । सत्ता र प्रतिपक्षको फरक अडानका कारण संसद लामो समय अवरुद्ध भएको हो ।
सत्ता र प्रतिपक्षका शीर्ष नेताहरुको सोमबार रातिको छलफलमा सुन तस्करी प्रकरण अनुसन्धानको लागि उच्चस्तरीय समिति बनाउन सहमति भएपछि संसद अवरोध हट्ने वातावरण बनेको हो । उच्चस्तरीय समिति बनाउन सत्ता र प्रतिपक्ष्नबीच गरिएको सहमति कार्यान्वयनको लागि बुधबार पनि शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको छ ।