वीरगन्ज / पर्साको वीरगंज महानगरपालिका क्षेत्रमा बाडा दसैंको अवसरमा लाग्ने मेलामा निशुल्क प्राथमिक उपचार शिविर संचालन भएको छ । नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमिति पर्साको आयोजनामा निशुल्क प्राथमिक उपचार शिविर संचालन भएको हो ।
मेला अवधिभर सञ्चालन हुने प्राथमिक उपचार शिविरमा माईस्थानको मेलामा आउने सम्पूर्ण भक्तजन लगायत मेला देख्न आउने व्यक्तिहरूलाई सामान्य स्वास्थ्य समस्या भएमा प्राथमिक उपचार गरिने नेपाल कुशवाहा कल्याण समाज पर्साले जनाएको छ ।
नेपाल कुशवाहा कल्याण समाज पर्साका अनुसार मेलामा कसैलाई चोटपटक लागेको खण्डमा प्राथमिक उपचारका साथै सामान्य रोगहरुको समेत निशुल्क औषधी समेत वितरण गरिने भएको छ ।
मेलामा हजारौ भक्तजनहरुको सहभागिता रहने भएकाले भिडका बेला हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै प्राथमिक उपचार शिविर संचालन गरिएको नेपाल कुशवाहा कल्याण समाज पर्साका प्रमोद कुशवाहाले बताए । नेपाल कुशवाहा कल्याण समाजले देशका बिभिन्न स्थानमा बिगत लामो समय देखि निशुल्क स्वास्थ्य शिविर संचालन लगायत अन्य थुप्रै सामाजिक कार्य गर्दै आईरहेको छ ।