वीरगंज । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वका अवसरमा श्रीपञ्चमी अर्थात् सरस्वती पूजा देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ ।
सोही क्रममा बिन्दबासिनी गाउँपालिकाको पालिका स्तरीय बजेटबाट श्री राधा कृष्ण चौरसिया माध्यमिक विद्यालयमा गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले सरस्वती मन्दिरको उद्घाटन गरी विधिवत् रुपमा पूजाअर्चना गरेका छन् ।
उक्त दिन सरस्वतीको पूजाअर्चना गर्दा बुद्धि, विवेक बढ्ने जनविश्वास रहि आएको छ । उक्त दिन साना बालबालिकालाई पहिलो अक्षर लेख्न सिकाइने गरिन्छ । बालबालिकाहरू सरस्वतीको मन्दिरमा गई पूजा आराधना गरी मन्दिरको भित्तामा अक्षर कोर्नेसमेत गर्छन् ।
त्यस्तै पालिका भरिका विद्यालय लगायत गाउँ गाउँमा समेत सरस्वती माताको मूर्ति राखी पूजा पाठ गर्ने भक्तजनको भीड लागेको थियो । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकीदेवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गरिन्छ।