वीरगन्ज । प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले इलाका प्रहरी कार्यालय पोखरीया पर्साको परिसरमा नवनिर्मित भान्सा घर , भिवटावर लाइट र ग्यारेज भवनको उद्घाटन गर्नु भएको छ ।
बिहीबार आयोजित एक कार्यक्रमबीच प्रहरी उपरीक्षक शाहले भान्सा घर सहित भनेका अरू भवनको उद्घाटन गर्नु भयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नु भएको छ ।
उक्त अवसरमा प्रहरी उपरीक्षक शाहले प्रहरी सङ्गठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा सङ्गठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी कार्यालय सदैव कटिबद्ध र प्रयासरत रहेको बताउनु भयो ।
आधुनिक भवनहरूसँगै प्रहरीको सेवाप्रतिको इमानदारिता, जिम्मेवारी बोध, प्रहरी आचरण र व्यवहारले प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । भवनहरू सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्नुहुँदै प्रहरी उपरीक्षक शाहले नवनिर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्द्धन गर्दै दीर्घकालसम्म जर्गेनाका लागि सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहन बिक्रम केसी लगायत प्रहरीहरूको सहभागिता रहेको थियो ।