वीरगन्ज २४ असोजः ध्रुव गिरी सौराहामा सपना भिलेज होटल चलाउँदै आएका छन् । उनले हात्ती पाल्न थालेको करिब १० वर्ष भयो । शुरुमा हात्ती सफारीका लागि एउटा हात्ती पालेका उनले अहिले छ वटा पालेका छन् तर, हात्ती सफारीका लागि प्रयोग हुँदैनन् । किन की हात्ती सबै सफारीका लागि योग्य छैनन् । कुनै हात्ती अपाङ्गता भएका छन् त कुनै अशक्त । यी हात्तीहरू सफारीका क्रममा घाइते भएका हुन् । उनले अझै हात्तीको सङ्ख्या बढाउने योजना बनाएका छन् ।
हात्तीले सफारीको काम नगरे पनि गिरी भने खुशी छन् । हात्तीका गतिविधि देखाएर नै उनले सफारीसरह पैसा भने कमाउन सकेको बताए । दुई वर्षदेखि उनले हात्तीलाई सेन्चुरी निर्माण गरी राख्दै आएका छन् । हात्ती नजिकैको बूढीराप्तीमा दिनभर चर्छन्, खोलामा नुहाउँछन् र अरु बेला सेन्चुरीमा बस्छन् ।
सेन्चुरी भनेको हात्तीलाई बिना साङ्लो एउटा घेरामा खुलारुपमा राखिएको ठाउँ हो जहाँ हात्ती पर्यटकका लागि विभिन्न किसिमका खेल, नाच र अन्य रोमाञ्चक गतिविधि देखाउने गर्दछन् । त्योबापत पैसा तिर्छन् । एक हात्तीका लागि मासिक रु ६० हजारदेखि एक लाखसम्म खर्च हुने गर्दछ । यो कामका लागि एक अन्तर्राष्ट्रिय संस्थाले उनलाई सहयोग पनि गर्दै आइरहेको छ ।