काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफुविरुद्ध छानबिन समिति बनाउने कुनै आधार नभएको बताएका छन् ।
सभामुखले बोलाएको सर्बदलीय बैठकमा गृहमन्त्री लामिछानेले महान्यायाधिवक्ता कार्यालयले नै मेरो विरुद्ध केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै नभएको बताएका हुन् ।उनले आधार नभई किन छानबिन समिति बनाउने भन्दै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका संसदमा आउने र कुनै आधार नभएको उजुरीमा छानबिन गर्नुपर्ने भन्दै प्रश्न गरेका छन्र ।
उनले भने- रुपन्देहीमा मुद्दा चल्ने, नचल्ने आधार हेरियो होला । आधार हेर्दा मुद्दा नचल्ने देखियो । नाम सहभागी हुँदैमा दोषी हुने होइन । प्रतिपक्षले सदन चल्न दिन जिम्मेवार हुनुपर्छ । संसदीय अभ्यास अगाडि बढाउन दिनुपर्छ ।’
उनले सहकारी समस्या समाधान गर्न सरकार संवेदनशील छ, नीतिगत र संरचनागत रूपमा फास्ट ट्र्याकमा व्यवस्था गर्न लागिरहेको बताउँदै बचतकर्ताको पैसा फिर्ता प्राथमिकतामा रहेको र यसलाई प्रतिपक्षीले साथ दिनुपर्ने बताए ।
उनले जिबी राईका सम्बन्धमा मलेसियामा गृहमन्त्रीसँग सकारात्मक छलफल भएको बताउँदै उनलाई नेपाल ल्याउन निरन्तर प्रयास गरिरहेको बताए ।