काठमाडौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूमाथि धरपकड नगर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमा अदालतले गृह मन्त्रालयसँग जवाफ माग गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले सिरोहियामाथि धरपकड र उनको नागरिकता छानबिन गर्नुपर्ने कारण पेस गर्न गृह मन्त्रालयको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
अदालतले धरपकड र उनको नागरिकता छानबिन गर्नुपर्ने कारण पेस गर्न उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषालाई पनि कारण देखाउ आदेश जारी गरेको छ ।
सिरोहियाले सोमबार सर्वोच्च अदालतमा गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालय धनुषाविरुद्ध प्रतिषेधको रिट दायर गरेका थिए । रिटमा गैर कानुनी धरपकड हुनसक्ने भन्दै त्यसलाई रोक्न माग गरिएको थियो ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्तेमा बैशाख १६ गते जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा उनीविरुद्ध नागरिकता किर्तेमा जाहेरी दर्ता भएको हो । सो सम्बन्धमा धनुषाका प्रहरीले अनुसन्धान गरिरहेको छ ।