काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को महाँकालचौर शाखामा बाढीले क्षति पु¥याएको पम्पीङ सिस्टमलाई पुनःस्थापना गरी खानेपानी आपूर्ति सुचारु गर्न निर्देशन दिएका छन् ।
मन्त्री यादवले आज स्थलगत अनुगमन गर्दै बाढीले क्षतिग्रस्त पम्पीङ सिस्टमको पुनःस्थापना प्रक्रिया छिटोभन्दा छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन ।
मन्त्री यादवले पम्पीङ सिस्टम बन्द हुँदा काठमाडौँका विभिन्न क्षेत्रमा खानेपानी आपूर्ति रोकिएको कारण सर्वसाधारणले भोगिरहेको कठिनाइप्रति गहिरो चिन्ता व्यक्त गर्दै छिटोभन्दा छिटो आपूर्ति सुचारु गर्न पहल गर्न आग्रह गरे । उनले भने, “जनताको जीवनमा पानीको अभाव जस्तो समस्या हुन सक्दैन । यो समस्या समाधान गर्न केयूकेएलले तुरुन्तै कार्य अघि बढाउनुपर्छ ।”
मन्त्री यादवले मन्त्रालयले पुनःस्थापनाका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै सम्बद्ध निकायलाई शीघ्र पुनःस्थापना कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन् । उनले थपे, “पम्पीङ सिस्टम पुनः सञ्चालनका लागि के सहयोग आवश्यक छ, मन्त्रालयले त्यही अनुसार सहयोग उपलब्ध गराउनेछ ।”
त्यसपछि मन्त्री यादवले सुन्दरी जलस्थित पानी प्रशोधन केन्द्रको पनि निरीक्षण गरे, जहाँ बागमती नदीको पानीमा बढेको धमिलोपनका कारण पानी प्रशोधन प्रक्रिया अवरुद्ध भएको थियो । उनले धमिलोपन कम भएपछि प्रशोधन प्रक्रिया पुनः सुचारु गरी सोमबारसम्म काठमाडौँका पानी भण्डारण ट्याङ्कीहरूमा खानेपानी आपूर्ति गर्न निर्देशन दिएका छन् ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी निर्देशक अशोक पौडेलका अनुसार, सो क्षेत्रको इन्टेक सफा गरेर वितरण प्रक्रिया अघि बढाइने छ ।
बाढीले गर्दा कीर्तिपुरस्थित सुन्दरीघाटको इलेक्ट्रोमेकानिकल शाखामा रहेका महत्त्वपूर्ण उपकरणहरू डुबेर ठूलो क्षति पुगेको छ । मन्त्रालयको प्रारम्भिक आकलन अनुसार, बाढीले करिब एक अर्ब रुपैयाँभन्दा बढीको सम्पत्तिलाई प्रभावित बनाएको छ । मन्त्री यादवले यस क्षतिको पूर्ण विवरण लिएर पुनःस्थापनाको योजना अघि बढाउने बताए ।