वीरगञ्ज । स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा राजनीतिक दल र चुनाव चिह्न महत्वपूर्ण आधार भए पनि स्थानीय सरकारको नेतृत्वका लागि त्यति मात्र पर्याप्त नहुने धारणा सार्वजनिक भएको छ।
विनोद मेहताले आफ्नो फेसबुकमा लेख्दै स्थानीय तहको नेतृत्व जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको जिम्मेवारी भएकाले उम्मेदवारको शैक्षिक योग्यता, सामाजिक अनुभव, सार्वजनिक जीवनमा बिताएको समय, कार्यरत क्षेत्रबाट समाजमा पुर्याएको योगदान, नेतृत्व क्षमता, जनतासँगको सम्बन्ध तथा समाजमा बनाएको विश्वासिलो छविलाई समेत गम्भीर रूपमा मूल्यांकन गर्नुपर्ने बताएका छन्।
उनका अनुसार लामो समय शिक्षा, प्रशासन, सामाजिक सेवा वा सार्वजनिक संस्थामा जिम्मेवारी सम्हालेका व्यक्तिले काम गर्ने शैली, संस्था सञ्चालन गर्ने क्षमता, समस्या समाधान गर्ने व्यवहार तथा मानिससँग समन्वय गर्ने संस्कार व्यवहारमै देखाइसकेका हुन्छन्। यस्तो अनुभव स्थानीय सरकार सञ्चालनमा पनि उपयोगी हुन सक्ने उनको भनाइ छ।
मेहताले चुनावको समयमा मात्र जनतासँग सम्बन्ध बनाउने व्यक्ति र लामो समयदेखि समुदायका सुख–दुःख, समस्या तथा आवश्यकतासँग जोडिँदै आएका व्यक्तिबीच फरक छुट्याउनुपर्नेमा जोड दिएका छन्। पदमा पुग्नुअघि समाजमा बनाएको पहिचान र पद पाएपछि गर्ने प्रतिबद्धताबीचको सम्बन्धलाई पनि मतदाताले मूल्यांकन गर्नुपर्ने उनको धारणा छ।
उनले उम्मेदवारको मूल्यांकन गर्दा भाषण गर्ने क्षमताभन्दा जिम्मेवारीपूर्वक गरेको काम, जनताको विश्वास, संस्था व्यवस्थित बनाउने क्षमता र सार्वजनिक हितका विषयमा निरन्तर रूपमा निर्वाह गरेको भूमिकालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन्।
“पार्टी बदलिन सक्छन्, चुनाव चिह्न बदलिन सक्छन् र राजनीतिक समीकरण पनि बदलिन सक्छ। तर शिक्षा, अनुभव, चरित्र, योगदान र समाजमा कमाएको विश्वास एकै दिनमा निर्माण हुँदैन,” मेहताले आफ्नो फेसबुक लेखमा उल्लेख गरेका छन्।
स्थानीय निर्वाचनमा मतदाताले “यो उम्मेदवारलाई नेतृत्वको जिम्मेवारी दिँदा हाम्रो गाउँ–समाजले के पाउँछ?” भन्ने प्रश्न गर्नुपर्ने उनको भनाइ छ।
लोकतन्त्रमा निर्णय गर्ने अधिकार जनताकै भएकाले उक्त अधिकार प्रयोग गर्दा चुनाव चिह्नसँगै उम्मेदवारको चिन्तन, परिचयसँगै योगदान, आश्वासनसँगै अनुभव र प्रचारसँगै विगतको कामलाई समेत हेर्ने संस्कार विकास गर्नुपर्ने मेहताले बताएका छन्। यस्तो अभ्यासले स्थानीय नेतृत्वलाई थप जिम्मेवार र जवाफदेही बनाउन सहयोग पुग्ने उनको निष्कर्ष छ।