जनकपुर । मधेश, थरुहट तथा उत्पीडित समुदायका राजनीतिक मुद्दालाई एकीकृत गर्दै युवाको नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित ‘हुंकार मधेश समग्र थरुहट–मधेश जोड्ने अभियान’ गठन गरिएको छ।
अभियानका लागि ११८ सदस्यीय केन्द्रीय अभियन्ता समिति गठन गरिएको छ। रुपन्देही, बर्दिया, बारा, धनुषा, पर्सालगायत तराईका विभिन्न जिल्लामा अभियन्ताका रूपमा काम गर्ने जनाइएको छ। राजेन्द्र महतोको पार्टीबाट अलग भएका केशवकुमार झाको नेतृत्वमा अभियान गठन भएको हो।
अभियानले संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता, सामाजिक न्याय, सुशासन, पहिचान र अधिकारलाई राजनीतिक आधार बनाएको छ। मधेशी, आदिवासी जनजाति, थारु, दलित, मुस्लिम, महिला, अल्पसंख्यक तथा विभेदमा परेका समुदायको पहिचान, प्रतिनिधित्व र अधिकार सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
मधेश केन्द्रित दलहरूबीच विगतमा भएका एकीकरणका प्रयास असफल भएको र त्यसको असर निर्वाचनमा परेको अभियानको निष्कर्ष छ। पुराना दल र नेतृत्वबाट अब मधेश–थरुहट तथा उत्पीडित समुदायको राजनीति अघि बढाउन कठिन हुने भन्दै युवाको नेतृत्व आवश्यक रहेको अभियानले जनाएको छ।
अभियानले पुराना नेताहरूलाई मार्गदर्शक तथा सल्लाहकारको भूमिकामा राख्दै सक्षम युवाको नेतृत्वमा सामूहिक नेतृत्व प्रणाली विकास गर्ने प्रस्ताव गरेको छ। राजनीतिक संगठन व्यक्तिवादमा नभई विचार, सिद्धान्त, विधि र प्रक्रियामा आधारित हुनुपर्ने उसको धारणा छ।
अभियानले मधेश आन्दोलनबाट संघीयता, समावेशी प्रतिनिधित्व र मधेशी पहिचानको स्वीकृतिजस्ता उपलब्धि हासिल भए पनि जनसंख्याको अनुपातमा प्रतिनिधित्व, संविधान संशोधन, प्रदेशको अधिकार, नागरिकता, निर्वाचन प्रणाली तथा भाषालगायतका विषय अझै सम्बोधन हुन बाँकी रहेको जनाएको छ।
२०७२ सालको मधेश आन्दोलनका क्रममा भएको बल प्रयोगबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि अभियानले उठाएको छ।
अभियानले मधेश केन्द्रित राजनीतिक नेतृत्वमा दल विभाजन, व्यक्ति केन्द्रित राजनीति, विकासको कमजोर एजेन्डा, सत्ता राजनीतिमा अवसरवाद र वैचारिक कमजोरीजस्ता समस्या रहेको उल्लेख गरेको छ।
अभियानको प्रस्तावअनुसार कुनै पनि तहको अध्यक्ष वा संयोजक बन्न ४९ वर्ष ननाघेको र सदस्य वा पदाधिकारी बन्न ६५ वर्ष ननाघेको हुनुपर्नेछ। एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
अभियानले कृषि आधुनिकीकरण, सामूहिक उत्पादन, स्थानीय अर्थतन्त्र, शिक्षा सुधार र युवाको नेतृत्व विकासमा जोड दिएको छ। मातृभाषा, संस्कृत र अंग्रेजी शिक्षासँगै पूर्वीय दर्शन, योग, ध्यान, आयुर्वेद तथा स्थानीय ज्ञान प्रणालीलाई शिक्षामा समेट्ने प्रस्ताव गरिएको छ।
अभियानको मुख्य नारा ‘मौलिक ज्ञान, साझा शासन, साझा विकास’ रहेको छ। यसको वैचारिक नारा ‘विचार सहितको विकल्प र विकल्प सहितको विद्रोह’ तथा युवा नारा ‘अब देशको नेतृत्व गर्ने पालो युवाको’ रहेको छ।