पर्सा । पर्साको श्री जानकी राजेश आधारभूत विद्यालयका करारका प्रधानाध्यापक रामदिनेश पण्डित अदालतको आदेश कार्यान्वयन नगरेको आरोपमा प्रहरीको सोधपुछमा परेका छन्।
स्थायी शिक्षकहरूलाई विद्यालयमा हाजिर हुन नदिएको तथा उच्च अदालतको आदेशसमेत बेवास्ता गरेको भन्दै परेको उजुरीपछि इलाका प्रहरी कार्यालय पोखरियाले पण्डितलाई कार्यालयमा बोलाएर बयान लिएको हो। आवश्यक सोधपुछपछि भने उनलाई सोही दिन घर फर्काइएको प्रहरीले जनाएको छ।
जानकारीअनुसार करिब साढे पाँच महिनाअघि सरुवा भएर विद्यालयमा आएका केही स्थायी शिक्षकहरूलाई अझैसम्म हाजिर हुन नदिएको आरोप प्रधानाध्यापक पण्डितमाथि छ। ती शिक्षकहरूको हाजिरी सुनिश्चित गर्न उच्च अदालतले आदेश जारी गरे पनि त्यसको कार्यान्वयन नभएको दाबी गर्दै सम्बन्धित पक्षले प्रहरीसमक्ष उजुरी दिएको हो।
उक्त उजुरीका आधारमा प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान थालेको र प्रधानाध्यापकसँग आवश्यक जानकारी संकलन गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पण्डितलाई पक्राउ गरिएको होइन, उजुरीमा उल्लेखित विषयबारे बुझ्नका लागि मात्र प्रहरी कार्यालयमा बोलाइएको थियो। सोधपुछ सम्पन्न भएपछि उनलाई छाडिएको उनले जानकारी दिए।
प्रहरीले उजुरीसँग सम्बन्धित कागजात र प्रमाणको अध्ययन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ। यद्यपि, आफूमाथि लगाइएका आरोपबारे प्रधानाध्यापक रामदिनेश पण्डितले हालसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।