बिरगंज , असार १
कपिलवस्तुका माओवादी जिल्ला नेता दीपक पाण्डेयको हत्या उनकै पत्नीको योजनामा भएको खुलेको छ । प्रहरीका अनुसार पाण्डेयको हत्या पत्नी महिमा पाण्डेयको योजनामा भएको पत्ता लागेको हो । सोमवार प्रहरीले हत्याका मुख्य योजनाकार र संगठित आपराधिक समूहलाई सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख नवराज अधिकारीले प्रकाश भन्ने ओमप्रकाश यादवसँग लामो समयदेखि अनैतिक सम्बन्धमा लागेर महिमाले दीपकको हत्या योजना बुनेको अनुसन्धानबाट पुष्टि भएको बताए ।‘महिमा र ओमप्रकाशबीच प्रेम सम्बन्धले नै हत्याको योजना बनेको देखियो ।’प्रहरीका अनुसार विगत ५ वर्षदेखि ओमप्रकाश यादवको र मृतक दीपककी पत्नी महिमा पाण्डेयबीच भएको अनैतिक सम्बन्धले पाण्डेय परिवारमा मनमुटाव र विवाद शुरू भएको थियो । परिवारको विवाद अन्ततः हत्यासम्म पुगेको देखिएको छ ।कपिलवस्तु नगरपालिका–१ का ३४ वर्षीय नेता पाण्डेयलाई जेठ ५ गते गोली प्रहार गरिएको थियो । गोली लागेर गम्भीर घाइते भएका पाण्डेयलाई रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । उपचार हुन नसकेपछि काठमाडौं लैजाने क्रममा जेठ १० गते उनको मृत्यु भएको थियो । जेठ ५ गते राति ११ बजे चार नम्बर तौलिहवा सडक खण्डमा पाण्डेयमाथि गोली प्रहार भएको थियो ।पटक–पटक दीपकलाई हत्या गर्ने योजना बनाई विगत २–३ वर्ष अगाडिदेखि नै विभिन्न व्यक्तिलाई प्रयोग गरी सुपारी (बैना) समेत दिएका थिए । पटक–पटकको प्रयास असफल भएपछि लामो निगरानी पश्चात जेठ ५ गते हत्या भएको खुल्न आएको छ ।

घटनामा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यसमध्ये हत्यामै ४ जना र अन्य ७ जना हतियार किन्ने र व्यवस्थापन गर्न परिचालन भएको देखिएको अधिकारीले बताए ।हत्यामा महिमा, ओमप्रकाश, रमजान साह मुसलमान र साकिर अलि पाखिरा रहेका छन् । ओमप्रकाश कपिलवस्तु नगरपालिका–१ का हुन् । लु१६प ३४९७ नम्बरको मोटरसाइकलको पछाडि रहेका रमजान साह मुसलमान र साकिर अलि पखियाले पाण्डेलाई २ वटा पेस्तोलबाट १–१ गोली हानेका थिए ।हतियार खरिद र व्यवस्थापनमा संलग्न कपिलवस्तु नगरपालिका–१ का ३५ वर्षीय पूर्णवीर पाल्पाली, वडा नम्बर २ का सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका–४ का ज्ञानेन्द्रकुमार पाण्डेय, सोही स्थानका राधेश्याम चौधरी, कपिलवस्तु–५ का श्रीराम कुर्मी, कपिलवस्तु–१ का नरसत अली र वडा नम्बर–२ का प्रवीण गुप्ता रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।